भारतको उत्तर प्रदेशस्थित मथुरामा एक अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। ३२ वर्षीय राजा बाबु नामका एक युवकले युट्युब ट्युटोरियल हेरेर आफ्नै पेटको शल्यक्रिया गरेका छन्।
राजा बाबु वाणिज्यशास्त्रमा स्नातक गरेका युवक हुन्। केही महिनायता उनी पेटको गम्भीर समस्याबाट पीडित थिए। लगातार पेट दुख्ने समस्याले सताएपछि उनले विभिन्न चिकित्सकहरूलाई भेटे, तर डाक्टरहरूले स्पष्ट रोग पत्ता लगाउन सकेनन्। अन्ततः उपचार नपाएर निराश बनेका उनी घरमै आराम गर्न बाध्य भए।
जब पेटको पीडा असह्य हुँदै गयो, उनले युट्युबमा पेटको शल्यक्रिया सम्बन्धी ट्युटोरियल भिडिओहरू हेर्न थाले। युट्युब भिडिओबाट सिकेर आफ्नै पेटको समस्या पत्ता लगाउने आशामा उनले आफैं शल्यक्रिया गर्ने निर्णय गरे।
राजा बाबुले नजिकैको मेडिकल स्टोरबाट सर्जिकल ब्लेड, लठ्याउने सुई (एनेस्थेसिया), टाँका लगाउने धागो तथा अन्य आवश्यक सामग्रीहरू किनेर ल्याए। बुधबारको दिन, कोठाभित्र बसेर उनले युट्युब भिडिओमा देखाएअनुसार आफ्नै पेट काट्न थाले।
भारतीय अनलाइन पोर्टल द वीक का अनुसार उनले करिब सात इन्च लामो पेट चिरे। तर पेट भित्र के समस्या थियो, त्यो पत्ता लगाउन सके वा सकेनन् भन्ने जानकारी खुलेको छैन। केही समयपछि लठ्याउने औषधिको असर कम भएपछि उनी असह्य पीडाले कराउँदै चिच्याउन थाले।
उनको चिच्याहट सुनेर परिवारका सदस्यहरू कोठामा आएर उनलाई गम्भीर अवस्थामा भेटे। तुरुन्तै उनलाई नजिकको जिल्ला अस्पताल पुर्याइयो। डाक्टरहरूले उनको स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै संक्रमण फैलिन सक्ने चेतावनी दिए। प्राथमिक उपचारपछि उनलाई एसएन मेडिकल कलेज, आग्रामा रेफर गरियो।
बिरामीको कथा सुनेपछि चिकित्सकहरू स्तब्ध भए। आफैं पेट चिरेको घटना सुनेर उनीहरू आश्चर्यचकित भएका थिए। उपचारपछि राजा बाबुको स्वास्थ्यमा सुधार आएको छ, र उनी अहिले सामान्य बोल्न सक्ने भएका छन्।
“डाक्टरहरूले रोग पत्ता लगाउन सकेनन्, त्यसैले आफैं पेट काटें”
डाक्टरहरूले जब उनलाई यस्तो निर्णय लिनुको कारण सोधे, उनले भने, “धेरै डाक्टरकहाँ गएँ, तर कुनै ठोस उपचार भएन। पीडा असह्य भएपछि आफैं पेट चिरेर समस्या पत्ता लगाउने सोच बनाएँ।”
इन्डिया टुडेका अनुसार राजा बाबुको १८ वर्षअघि एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। तर अहिले उनले आफैं गरेको अपरेशनले उनको जीवन खतरामा पार्न सक्थ्यो। सौभाग्यवश, चिकित्सकहरूको समयमै हस्तक्षेपले उनको ज्यान जोगिएको छ।
यस घटनाले आधुनिक प्रविधिको फाइदा र जोखिम दुवै पक्षलाई देखाएको छ। युट्युबबाट सिक्न पाइन्छ, तर स्वास्थ्य जस्तो संवेदनशील कुरामा विशेषज्ञको परामर्श बिना कुनै जोखिम उठाउनु घातक हुन सक्छ।
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया