काठमाडौं । प्रभु बैंकभित्र नातावाद र कृपावादको गहिरो जरो रहेको भन्ने आरोप फेरि एकपटक चर्चामा आएको छ। हालै पोखरामा आयोजित बैंकको क्विज प्रतियोगितामा सिइओ आशोक शेरचनका सम्धिनी शान्ति शेरचनको विशेष उपस्थिति देखिनुले बैंकभित्र पारिवारिक प्रभाव कत्तिको हावी छ भन्ने विषयले पुनः चर्चा पाएको छ।
६५ वर्ष उमेरसम्म बैंकिङ क्षेत्रमा सक्रिय रहेकी शेरचन केही समयअघि मात्र अवकाश प्राप्त गरेकी थिइन्। तर, बैंकबाट सेवा निवृत्त भए पनि उनको प्रभाव भने घटेको देखिँदैन। अझ रोचक पक्ष के छ भने, बैंककै एउटा शाखा उनको आफ्नै घरभित्र स्थापना गरिएको छ, जसले संस्थागत निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
पोखरामा एकछत्र दबदबा
प्रभु बैंकका कर्मचारी नियुक्ति प्रक्रियामा पनि नातावादको प्रभाव रहेको आरोप छ। खासगरी, पोखरा क्षेत्रबाट गरिने नियुक्तिहरू सिइओ शेरचनको सम्धीनिको अनुमोदनबिना सम्भव छैन भन्ने चर्चा छ। बैंकले एकातिर स्वेच्छिक अवकाश (VR) कार्यक्रमको नाममा सिइओका मन नपरेका कर्मचारीलाई हटाइरहेको छ भने, अर्कोतर्फ पोखराबाट सिइओ शेरचनको सम्धिनीको चलखेलमा नयाँ कर्मचारी नियुक्त गरी काठमाडौं तथा अन्य शाखामा स्थानान्तरण गरिरहेको छ।
यस नीतिले बैंकभित्रै ठूलो असन्तोष फैलिएको छ। कतिपय कर्मचारीहरूले संस्थागत पारदर्शिता र निष्पक्षताको गम्भीर अभाव रहेको गुनासो गरिरहेका छन्।
गभर्नर दौडमा आशोक शेरचन : बैंकिङ क्षेत्रमा पारिवारिक प्रभाव झन् बलियो हुने संकेत
प्रभु बैंकका सिइओ आशोक शेरचन नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि दौडमा छन्। यदि उनी गभर्नर नियुक्त भए भने प्रभु बैंक र शेरचन परिवारको प्रभाव समग्र बैंकिङ क्षेत्रमै कत्तिसम्म विस्तार हुन्छ भन्ने गम्भीर प्रश्न खडा भएको छ।
बैंकिङ क्षेत्रले पारदर्शिता, निष्पक्षता र पेशागत मर्यादा कायम राख्नुपर्ने हुन्छ। तर, यदि कुनै बैंक संस्थागत निर्णयहरूमा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिन्छ भने, त्यसले दिगो बैंकिङ संरचनामा गम्भीर क्षति पुर्याउने सम्भावना रहन्छ।
प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार
प्रतिक्रिया