काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले) बीच उच्च तहमा समझदारी जुटेको छ। बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना लाई नयाँ गभर्नर बनाउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भइसकेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबीच गभर्नर नियुक्तिको विषयमा गम्भीर छलफल भएको थियो। सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल को नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गर्यो। सो समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल पनि सदस्य छन्।
हालका गभर्नर महाप्रसाद अधिकारी को पाँच वर्षे कार्यकाल यही चैत २४ गते समाप्त हुँदैछ। सरकार नयाँ गभर्नर नियुक्त गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको थियो, तर कांग्रेस र एमालेबीच गभर्नर कसले लिने भन्नेबारे सहमति जुट्न बाँकी थियो। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र हितेन्द्र देव शाक्य लाई नियुक्त गरेपछि गभर्नर पद कांग्रेसको भागमा परेको हो।
कांग्रेसले अघि सारे बैंकर ज्ञानेन्द्र ढुंगाना
गभर्नर पद कांग्रेसले पाउने निश्चित भएपछि सभापति देउवाले लामो समयदेखि बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएका अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना लाई अघि सारेका छन्। ढुंगाना गभर्नर बन्ने निश्चित जस्तै भएपछि एमाले पनि सकारात्मक देखिएको छ। सिफारिस समितिले एक-दुई दिनमै ढुंगानाको नाम सरकारसमक्ष सिफारिस गर्ने तयारी गरिरहेको छ।
ढुंगाना नेपाल बैंकर एसोसिएसनका पूर्व अध्यक्ष हुन्। उनले सन् २०१५ मा ‘म्यानेजर अफ द इयर’ को उपाधि प्राप्त गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट पेशाका ढुंगानाले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा कार्य गरिसकेका छन्। त्यसअघि उनले नेपाल बंगलादेश बैंक (एनबी बैंक) को प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व सम्हालेका थिए।
नेपाल राष्ट्र बैंकमा समेत डाइरेक्टर का रूपमा काम गरिसकेका ढुंगाना भारतबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका हुन् भने अष्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट र वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्। नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनलाई सन् २०२२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरिएको थियो।
ढुंगानाले नेपाल राष्ट्र बैंकको गभर्नर बनेमा देशको अर्थतन्त्र सुधारका लागि निर्णायक भूमिका खेल्ने विश्वास गरिएको छ। वित्तीय संकटको व्यवस्थापन तथा बैंकिङ सुधारमा उनको अनुभवलाई सकारात्मक रूपमा हेरिएको छ। अब औपचारिक रूपमा मन्त्रिपरिषद्को निर्णयपछि ढुंगाना गभर्नर नियुक्त हुने सम्भावना बलियो बनेको छ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया