काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने भएको छ।

स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा सकस भएको हो । मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा सकस देखिएको हो ।

बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो । बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको अवरोध हटाउन दुई पक्षबीच मध्यराति १८ बुँदे सहमति भयो।

आइन्दा काठमाडौंबाट फोहोर बोकेका ट्रकहरू राति मात्र पठाउने, यसका लागि सडकमा बिजुलीसहित आवश्यक व्यवस्था महानगरपालिकाले ३ महिनाभित्र मिलाउने, सिसडोल र बञ्चरेडाँडामा फोहोर नगन्हाउने गरी महानगरपालिको एक महिनाभित्र व्यवस्थापन मिलाउने सहमति पत्रमा उल्लेख छ ।

स्थानीय श्रीराम ढुंगानाले भने, ‘मन्त्रिपरिषद्ले विगतमा गरेका सहमतिहरुको अक्षरंश पालना मात्रै गर्ने हो भने समस्याको हल निस्किन्छ।’

प्रभावित क्षेत्रको पहिचान गरी अधिग्रहण, मुआब्जा वितरणलगायत काम गर्न महानगरपालिकाले केन्द्र सरकारमातहतका मन्त्रालय र निकायसँग समन्वय गर्ने, २३ जेठमा भएको सहमतिबमोजिम अतिरिक्त फोहोरमैला व्यवस्थापनमा संलग्न चालक, सहचालक तथा अन्य कर्मचारीहरूको स्वास्थ्य बीमा महानगरपालिकाले गर्ने सहमति भयो।

सहमति भएको केहि समयपछि शहरी विकास मन्त्रालयमा शुक्रबार बिहान बैठक बस्यो। बैठकमा सर्वसहमति जुटाउने प्रयास भएपनि निष्कर्ष भने निस्किएन ।

सहमति कार्यान्वयनमा प्रश्न उठ्न थालेको छ। छलफलमा स्थानीयले सरकारले विगतमा गरेका निर्णयहरु अक्षरश पालनामा शंका व्यक्त गरे । स्थानीय श्रीराम ढुंगानाले भने, ‘मन्त्रिपरिषद्ले विगतमा गरेका सहमतिहरुको अक्षरंश पालना मात्रै गर्ने हो भने समस्याको हल निस्किन्छ।’

नेपाली कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महतले ककनीको वडा नम्बर १, २, ३, धुनीवेशी १ को धेरै भू-भाग सरकारले अधिग्रहण गर्नुपर्ने बताए ।

मन्त्रालयमा भएको छलफलमा फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा र सीसडोलका स्थानीयले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै फोहोर उठ्न नदिने बताए।

नेपाली कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महतले ककनीको वडा नम्बर १, २, ३, धुनीवेशी १ को धेरै भू-भाग सरकारले अधिग्रहण गर्नुपर्ने बताए । महतले भने, ‘समन्वयको अभावमा फोहोर व्यवस्थापन हुँदैन । एकीकृत हल हुन जरुरी छ । सहकार्य र संस्थागत रेस्पोन्स हुनुपर्ने देखिन्छ । महानगर, शहरी विकास आआफ्नो तरीकाले काम गर्दा समस्या भयो । संस्थागत व्यवस्थाले कार्य गर्न सकेन । दुर्गन्धमुक्त, रोगमुक्त स्थितिको सृजना गर्न आवश्यक छ । प्रशासन संयन्त्र क्रियाशील हुनुपर्छ । विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्छ ।’

सांसद हितबहादुर तामाङले फोहोरको नाममा अर्बौं खर्च भएपनि दीर्घकालीन समाधान ननिस्किएको बताए । उनले भने, ‘सम्झौताका नाममा सहमति गरियो । कार्यान्वयन इमान्दारितापूर्वक भएन । योभन्दा धेरै फोहोर थुप्रिन दिने हो भने संसारको सबैभन्दा बदनाम सहर र मान्छेका रुपमा चिनिनुपर्ने हुन्छ । अतिप्रभावित, प्रभावितको वर्गीकरण गरेको खोइ? ककनी डाँडासम्म गन्ह आउँछ । जग्गा कसैले किन्न मान्दैनन् । फोहोरको दीर्घकालीन समाधान गरौं ।’

यस्तै सांसद रामवीर मानन्धरले फोहोर व्यवस्थापनमा प्रविधिको उपयोग गर्नुपर्ने बताए ।‘फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउन प्रयास गर्नुपर्छ । मेसिनबिना समस्या सम्बोधन हुँदैन,’उनले भने। उनले  फोहोरको समस्या समाधान ननिस्किए १६ नम्बर वडाबाट फोहोर जाने र त्यहि स्थानबाट फोहोर रोकिदिने चेतावनी दिए ।

सांसद भीमसेनदास प्रधानले काठमाडौंको फोहोर व्यवस्थापन सन्दर्भमा १७१ पटक बैठक बसेपनि निकास ननिस्किएको बताए ।

सांसद भूमी त्रिपाठीले बञ्चरेडाँडामा छापामार शैलीमा फोहोर लैजाने काम भएको बताए । उनले भने,‘बञ्चरेडाँडाँमा छापामार शैलीमा फोहोर लैजाने काम भयो । प्रहरी लगाउने कार्य खेदजनक छ । वातावरणीय प्रभाव मुल्याकंन (इआईई) फोहोर विसर्जन हुनुअघि गर्नुपथ्र्यो । हामीलाई अर्को ठाउँमा स्थानान्तरण गरिदिनुस् । त्यो ठाउँमा बस्न सकिने अवस्था छैन । निर्णय प्रक्रियामा प्रभावित क्षेत्रलाई पनि बसालौं ।’

फोहोरको दीर्घकालीन समाधान गर्न सरकार आलटाल गरिरहेको भन्दै सम्झौता कार्यान्वयनको ग्यारेण्टी हुनुपर्ने बताए।

सांसद भीमसेनदास प्रधानले काठमाडौंको फोहोर व्यवस्थापन सन्दर्भमा १७१ पटक बैठक बसेपनि निकास ननिस्किएको बताए ।

सांसद गगन थापाले बञ्चरेडाँडा र सिसडोलको मुख्य माग जग्गा अधिग्रहण रहेको बताए । उनले भने, ‘जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गरौं । काठमाडौं फोहोर थेग्न सक्ने अवस्था छैन । ’

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले तत्काल फोहोर संकलनमा अवरोध नगर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘स्थानीयका माग जायज छन् । फोहोर उठाउन दिनुहोस् । जग्गा अधिग्रहणका लागि बजेट विनियोजनको पहल गर्छु । ‘
काठमाडौं महानगरले फोहोर संकलन गरी बञ्चरेडाँडा पुर्‍याए पनि स्थानीयले अवरोध गर्दै आएका छन् । ‘फोहोरको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, अतिप्रभावित क्षेत्रको जग्गा सरकारले अधिग्रहण गर्नुपर्ने, स्वास्थ्य बीमा सरकारले ग्यारेन्टी गर्नुपर्नेलगायत स्थानीयको माग छन्।

यस्तै,जग्गा अधिग्रहण, बन्चरेडाँडासम्म जाने बाटोका लागि पर्याप्त बजेट विनियोजन र स्थानीय बासिन्दा पनि रहने एक समिति गठन गरिनुपर्ने स्थानीयको माग छ । बन्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनबारे अनुगमन गर्न स्थानीय बासिन्दासमेत रहको समिति गठन गरिनुपर्ने स्थानीय मनोज तामाङले बताए ।

प्रभावित स्थानीयले जनप्रतिनिधिको विश्वास गर्न छोडेका छन् । ककनी र धुनीवेशी पालिकाले फोहोरका नाममा प्राप्त बजेट अन्यत्र खर्च गर्ने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com