काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल सञ्चालनको योजना ल्याउँदा धेरैले खिल्ली उडाएको स्मरण गर्दै, आफूले विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाउने प्रस्ताव गरे पनि कोही नआएको गुनासो गरेका छन्।
आज मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भमा नेपालमा रेल ल्याउने विचारलाई धेरैले असम्भव र हाँसोको विषय बनाएको उल्लेख गरे। उनले भने, “मैले जब नेपालमा रेल ल्याउने कुरा गरेँ, धेरैले विश्वास गरेनन्, मजाक उडाए। मैले त्यसबेला भनें– जसले विरोध गर्नुभयो, जनकपुरमा रेलमा एक चक्कर सित्तैमा घुमाइदिन्छु। तर कसैले पनि सम्पर्क गरेनन्।”
प्रधानमन्त्री ओलीले जनकपुर–जयनगर रेल सेवा लामो समय बन्द रहेको तर आफ्नो अघिल्लो कार्यकालमा पुनः सञ्चालनमा ल्याएको बताउँदै त्यसबाट स्थानीयवासीलाई सजिलो, छिटो र सस्तो यातायात सेवा उपलब्ध भएको जनाए।
“हामीले रेल निर्माण गर्यौं, नयाँ रेल किन्यौं र सञ्चालनमा ल्यायौं। यसले जनतालाई प्रत्यक्ष फाइदा पुर्याएको छ,” प्रधानमन्त्री ओलीले बताए।
उनले नयाँ योजना ल्याउँदा प्रारम्भमा आलोचना हुनु स्वाभाविक मान्दै आत्मविश्वासको महत्त्वसमेत उल्लेख गरे। “सुरुमा मान्छेले नपत्याउने, असम्भव ठान्ने, नहुने भन्दै कुरा काट्ने गर्छन्। आत्मविश्वास नभएका व्यक्तिहरूले सधैं सकिँदैन, मिल्दैन भन्छन्,” ओलीको टिप्पणी थियो।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया