काठमाडौं । बल्खुमा मंगलबार आयोजित विरोध प्रदर्शनमा राप्रपाले फोहोर आफैं सरसफाइ गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जरिवाना नगर्ने बताएका छन् भने पार्टीलाई धन्यवाद दिएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको क्रममा आफ्ना कार्यकर्तालाई फोहोर नगर्न चेतावनी दिँदै यसअघि महानगरबाट पाएको जरिवानाको प्रसंगसमेत उल्लेख गरेका थिए। उनले भने, “फोहोर नगर्नुहोस्, महानगर जरिवानाको पर्खाइमा बसिरहेको छ।”

यसअघि काठमाडौंमा प्रदर्शनका क्रममा फोहोर गरेपछि राप्रपालाई महानगरले जरिवाना गरेको थियो। सोही अनुभवका आधारमा योपटक अध्यक्ष लिङ्देनले प्रदर्शन शान्तिपूर्ण र स्वच्छ बनाइराख्न निर्देशन दिएका थिए।

कार्यक्रमपछि राप्रपाका कार्यकर्ताले आफैँ फोहोर संकलन गरी स्थल सफा गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन्। उनले प्रदर्शनपछिको सरसफाइको केही तस्बिरहरू सार्वजनिक गर्दै लेखेका छन्, “कसैले फोहोर गर्छन् अनि जरिवाना तिराउँछौं भनेर महानगर बसिरहेको हुँदैन। महानगरको चाहना भनेको सार्वजनिक स्थलहरू सफा राख्नु हो। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद।”

प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com