सिरहा । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता–जनताको घर–आँगनसम्म पुगेको पार्टी भएकोले यसलाई हल्लाउन कोही नसक्ने दाबी गरेका छन्।
मंगलबार सिरहा बजारमा आयोजित पार्टीको ११औँ जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताको मात्र हितका लागि काम गर्ने पार्टी एमाले भएकाले यसको विरुद्धमा भ्रामक प्रचारमा नपर्न शुभेच्छुक र कार्यकर्ताहरूसँग आग्रह गरे।
“कोही भन्छन् एमालेलाई भित्तामा लगेर ठोकिदिन्छौँ, कोही भन्छन् धुलो चटाइदिन्छौँ”, प्रधानमन्त्री ओलीले भने, “तर एमालेमाथि जनताको भरोसा र समर्पण यति गहिरो छ कि यसलाई हल्लाउने सपना देख्नु व्यर्थ छ।”
प्रधानमन्त्री ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी–मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्य सुधारजस्ता थुप्रै कार्यक्रमको सुरुवात गरेको स्मरण गर्दै भने, “मधेसका पीडा र समस्या मलाई राम्रोसँग थाहा छ। ती समाधान गर्न संघीय सरकारले आवश्यक सबै काम गर्छ भन्ने कुरा आजै मैले मधेस प्रदेशसभामा प्रष्ट पारेको छु।”
राजतन्त्रको पुनरागमन असम्भव : ओली
राजतन्त्र पुनःस्थापनाको प्रयासलाई खारेज गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गतेका अराजक गतिविधिहरूबाटै राजतन्त्र समर्थकहरूको असली स्वरूप प्रकट भइसकेको बताए। उनले तोडफोड र आगजनी गर्नेहरूलाई शासनको जिम्मा दिन नहुने प्रस्ट पारे।
“जनताले ढुक्क हुनुहोस्, राजतन्त्र कुनै हालतमा फर्किँदैन। संविधान, लोकतन्त्र र स्थायित्वको रक्षाका लागि एमाले र कांग्रेसजस्ता ठूला पार्टीहरूको साझा भूमिका रहनेछ,” ओलीले स्पष्ट पारे। उनले वर्तमान सरकार चुनावसम्म सशक्तरूपमा टिक्ने दाबी गर्दै भने, “अबको १५ महिनापछि सरकारको नेतृत्व म कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ भन्नेहरू थाकिसके।”
गुटबन्दी होइन, एकता आवश्यक : ओली
अधिवेशनमार्फत एकता र परिपक्व नेतृत्व चयनको आवश्यकता औंल्याउँदै अध्यक्ष ओलीले गुटबन्दीको लागि प्यानल निर्माण गर्नु आवश्यक नरहेको बताए। उनले भने, “हामी विरोधीलाई देखाउन होइन, मुलुक र जनताको सेवाका लागि एकताबद्ध ढंगले अघि बढ्न चाहन्छौं।”
सो अवसरमा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजयकुमार सिंहसहित विभिन्न पार्टी परित्याग गरेर आएका करिब ५०० जना नयाँ सदस्यलाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए।
कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए।
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारस्थित शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका थिए। साथै, उनले सूर्यनारायण–सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरेका थिए।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया