काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाइएका ‘१७ हजारको हत्यारा’ भन्ने आरोप प्रति गम्भीर आपत्ति जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले इतिहासलाई विकृत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै आफूमाथि गलत प्रचार भईरहेको भन्दै दुःख व्यक्त गरे। उनले जनयुद्धको समयमा भएका घटनाहरूलाई युद्धको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत रूपमा आफूले कसैलाई पनि हात नहालेको दाबी गरे।
‘केही व्यक्तिहरू इतिहासलाई उल्ट्याउन खोज्दैछन्, १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेका छन्। तर त्यो जनयुद्ध थियो, त्यो समयका घटना युद्धका नियमअनुसार भएका थिए। राज्य पक्ष र विद्रोही दुबैबाट के-के भयो भन्ने तथ्य अध्ययन गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘आजभोलि त म आफैंले भन्न थालेको छु— अहिलेसम्म मैले एक जनालाई पनि पिटेको छैन। हत्याको कुरा त झन परै जाओस्।’
उनले युद्धको नेतृत्व आफूले गरेकाले त्यसको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे। तर शान्ति प्रक्रियामा आएको लामो समयपछि पनि आफूमाथि लगाइने निराधार आरोपहरूमा विद्वान् वर्गबाट प्रतिक्रिया नआएकोमा उनले चिन्ता व्यक्त गरे।
‘मैले सधैं शान्तिपूर्ण राजनीतिमा आएपछि सबै कुरा स्वीकार गर्ने भनें। तर, जब यति धेरै झूटा आरोपहरू लगाइन्छन्, तब हाम्रो बुद्धिजीवी वर्ग मौन रहन्छ, खण्डन गर्दैन। यो चिन्ताजनक हो,’ उनले भने।
प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार
प्रतिक्रिया