काठमाडौं । नेपालमा पर्यटक भिसामा आएका एक अमेरिकी नागरिकलाई राजसंस्थाको समर्थनमा सार्वजनिक रूपमा नाराबाजी गरेको आरोपमा देश निकाला गरिएको छ। देशनिकाला गरिएका ५८ वर्षीय नागरिक जुलियन किर्पाललाई आगामी दुई वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

गृह मन्त्रालयको निर्देशनमा अध्यागमन विभागले किर्पाललाई तत्काल स्वदेश फिर्ता पठाउने निर्णय गरेको हो। विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार उनलाई भोलि (मंगलबार) सम्ममा अमेरिका फर्काउने तयारी गरिएको छ।

“विदेशी नागरिकले नेपालको आन्तरिक राजनीतिक विषयमा संलग्न हुने कार्य स्वीकार्य हुँदैन,” ढकालले बताए। “पर्यटक भिसामा आएका किर्पालले राजनीतिक गतिविधिमा संलग्नता देखाएपछि सरकारले प्रतिबन्धसहित उनलाई देशनिकाला गर्ने निर्णय गरेको हो।”

उनलाई चैत १४ गते माइतीघर मण्डलामा आयोजित कार्यक्रममा पूर्वराजाको समर्थनमा नाराबाजी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। सो क्रममा उनलाई अध्यागमन विभागमा बुझाइएको थियो।

प्रहरी अनुसन्धानका क्रममा किर्पालले नेपालमा रहँदा निरन्तर रूपमा राजसंस्थाका पक्षधरहरूसँग भेटघाट र संवाद गरिरहेको प्रमाण फेला परेको बताइएको छ। यस्ता क्रियाकलाप नेपालमा पर्यटक भिसाको मापदण्डविपरीत रहेको भन्दै उनलाई डिपोर्ट गर्ने निर्णय लिइएको हो।

प्रकाशित मिति: १ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com