काठमाडौं । काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।

प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अर्थमन्त्रीले राखेको धारणा उनको व्यक्तिगत भएको बताए । आफूले यो कुरा भाषणमा नै प्रस्ट्याएकाले काठमाडौंका मेयर असन्तुष्ट हुनुपर्ने कारण नभएको उनको भनाइ छ । मेयर साहले अभिमुखीकरण कार्यक्रम नै बहिष्कार गरेको विषयमा भने आफू अनभिज्ञ रहेको बताए । उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए ।

पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि । उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com