डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्ने धारणा राखेका हुन्।

मन्त्री आलेले भने, “देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ । हाम्रा परम्परा, कला र संस्कृति संसारकै अद्वितीय हुन्, यही हेर्न र अध्ययन गर्नकै लागि नेपालमा विश्वबाटै पर्यटक आउने गरेका छन्, त्यसैले हाम्रा यी सम्पत्तिको संरक्षणमा हामी नै लाग्नुपर्छ । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनुहुँदैन ।”

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गरी युवापुस्तासम्म लैजानुपर्नेमा मन्त्री आलेले जोड दिए ।

डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आइतबार शिलान्यास गरेकाछन् ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेको पहलमा रु नौ करोड बजेट विनियोजन भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताए ।

उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । बोगटान क्षेत्रको घना जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा पूजाआजाका लागि स्वदेश तथा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गर्दछन् । यहाँ पुग्ने पदमार्ग निर्माण भएपछि पर्यटकलाई तीर्थयात्राका लागि सहज हुने भएपछि स्थानीयवासी खुुसी भएका छन् ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com