काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए । अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे ।

अध्यक्ष दाहालले भनेका छन्, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ । देशका राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन । आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साँढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन ।’

उनले फेरि भने, ‘सबै जातजाति, क्षेत्र, भाषा, समूदायको एकतालाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढिकरणको प्रक्रियामा अघि बढ्ने कुरा पनि अब बाँकी जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरु गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अवको जीवन बिताउने मैले भनेको थिए । जुन प्रयोग निकै ठूलो साहसका साथ गरिएको थियो । त्यो सफल भएन । बामपन्थीहरुको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो । त्यो सफल भएन । त्यसबारे मैले अहिले लामो भन्नु केही छैन ।’

उनले थपे, ‘तर तपाईहरुले भन्नुभयो, तपाईहरुले भनेको कुरा तपाईहरुको आर्शिवाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ । किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गरे । उनले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक आग्रह गरे ।

उपाध्यक्ष रिजालले नेपाल पर्वतारोहण संघलाई अल्पाईन क्लवको रुपमा विकास गर्न पनि सरकार जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com