काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको सोधपत्र (थेसिस) लेख्ने विद्यार्थीले तीन प्रति थेसिस विश्वविद्यालयमा बुझाउनुपर्छ । एक प्रति क्याम्पसमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्छ ।

यसरी विद्यार्थीले बुझाएको थेसिस परीक्षा नियन्त्रण कार्यालयले भने पुराना कागजको रुपमा उद्योगलाई बिक्री गर्ने गरेको पाइएको छ । कार्यालयले राख्ने ठाउँको अभाव भएको कारण देखाएर विद्यार्थीले बुझाएको थेसिस र उत्तरपुस्तिका कागज उद्योगलाई बेच्ने गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशी थेसिस बेच्ने प्रचलन २०५६ सालदेखि नै रहेको बताउँछन् । उनका अनुसार केन्द्रीय पुस्तकालयमा बुझाएको थेसिस सुरक्षित हुने भएकाले परीक्षा नियन्त्रण कार्यालयमा बुझाएको थेसिसचाहिँ नतिजा प्रकाशन भएको चार महिनापछि बेच्ने गरिएको छ ।

‘भविष्यमा रेफरेन्सका लागि केन्द्रीय पुस्तकालयको प्रयोग हुन्छ । हाम्रो चाहिँ रिजल्ट भएपछि छ महिना भन्दा बढी राख्ने स्थान हुँदैन । भाषा विज्ञान प्रतिष्ठान र योजना आयोगले आवश्यक परेको लैजान्छ । बाँकी रहेको हामीले गोपनीयताका साथ डिसमेन्टल गर्छौ’ परीक्षा नियन्त्रक जोशीले भने ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो । त्यसो गर्दा बदाम र चना चटपटे बेच्नेको हातमा पनि पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।
विद्यार्थीले बुझाएका शोधपत्र परीक्षा नियन्त्रण कार्यालयमा प्रयोजनविहीन हुने उनले बताए । ‘हामी गोपनीयताका साथ टुक्रा बनाएर पेस्ट बनाउने सर्तमा मात्रै दिन्छौं । त्यसको फेरि कागज नै बन्ने हो’ जोशीले भने ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो । त्यसो गर्दा बदाम र चना चटपटे बेच्नेको हातमा पनि पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

परीक्षा नियन्त्रक कार्यालयले आफूलाई बुझाएको थेसिस कहिल्यै सुरक्षित गरेर राखेको छैन । ०५६ सालअघि यस्ता थेसिस र उत्तरपुस्तिका खाल्डो खनेर पुर्ने गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

‘यसरी पुर्दा २०/३० हजार खर्च हुन्थ्यो अहिले केही नभए वर्षको दश लाख रुपैयाँ (थेसिस र उत्तरपुस्तिका बेचेर) जत्ति आउँछ । वेस्टेज भएको चिज फेरि प्रयोग पनि हुने भयो । त्रिविको आयस्रोत पनि बढ्यो’ उनले भने ।

पनिकाले ०५६ सालमा प्रतिकिलो ४ रुपैयाँमा बेच्ने गरेको थेसिस र उत्तरपुस्तिका हिजोआज प्रतिकिलो १२ रुपैयाँमा बिक्री गरिने परीक्षा नियन्त्रक जोशीले बताए । परीक्षा नियन्त्रण कार्यालयमा शोधपत्र मात्रै वर्षको २० देखि ३० हजार प्रति जम्मा हुने गर्छ । वर्षमा ३० देखि ४० लाख उत्तर पुस्तिका जम्मा हुने भएको र राख्ने स्थान नहुने भएकाले कागज उद्योगलाई बेच्ने गरेको उनको दाबी छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com