काठमाडौं । झन्डै नौ महिनाको कार्यकाल समीक्षा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफैँलाई ९० अंक दिएका छन् । जनताले एक्सन मन्त्रीको उपमा दिएअनुसार आफूले ऊर्जाका साथ काम गरेको उनको जिकिर छ । ‘म प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ, मलाई चाँडै रिजल्ट चाहिन्छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनतालाई छिटो–छरितो सेवा कसरी प्रवाह गर्ने भन्ने विषयलाई मैले उच्च प्राथमिकता दिएर काम गरेँ ।’

नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाईजहाज र हेलिकोप्टरको बेस स्थानान्तरणलगायतका काममा अदृश्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब तथा प्रलोभनहरू आएको पनि उनले खुलासा गरे ।

‘यसअघि निजी एयरलाइन्स कम्पनीहरूले आफूले भनेको मान्ने मान्छेलाई मन्त्री, सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणको डिजी, निगमको महाप्रबन्धक बनाउन लबिङ गर्थे र आफ्नो अनुकूल काम पनि गराउँथे,’ उनले भने, ‘यसपटक अपवाद भयो, उनीहरूले चाहेजस्तो गर्न खोजे पनि सकेनन् ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम बजारमा जाने नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र सात दशकपछि सञ्चालनमा आएको भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो उपलब्धिका रूपमा सधैँ सम्झिरहने आलेले बताए । त्यस्तै, त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा र रात्रि उडान सुविधा भएका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थल १८ घन्टा सञ्चालनमा ल्याएको पनि उनले बताए ।

प्रकाशित मिति: १३ असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com