काठमाडौं । युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन भैंसेपाटी पुगेकी रेस्लर अस्मिता ‘जुरेली’ लाई युवासंघका नेताद्धारा दुर्व्यवहार भएको छ।

उनी गत वर्षको असार १५ मा दोहोरी गायक छत्र शाहीसँग हिलोमा डुबुल्की मारेर भाइरल बनेकी थिइन्। धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत गरे । यद्यपि, उक्त घटनामा छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि गलत हर्कत भएको छ ।

रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् । ‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् । ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।

‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् । लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ ।

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन्। उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जाने उनले बताइन् । रोपाईंस्थल नजिकै प्रहरी चौकी रहेको छ । आफूले च्यातिएका कपडा प्रहरी चौकीमै छोडेर आएको उनले बताइन् । आफूमाथि गलत हरकत गर्ने पुरुषको नाम थाहा नभए पनि उनी युवा संघकै सदस्य भएको उनको भनाइ छ।
तस्वीरहरु:

प्रकाशित मिति: १५ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com