रौतहट । रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् ।

असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरेका थिए । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि अहिले ती शिक्षकहरुको तीव्र आलोचना भइरहेको छ ।

भिडियोमा कोठाभित्र महिला शिक्षकसहित अन्य शिक्षकहरु कोठामा गोलाकारमा बसेका छन् । बिचमा बीचमा ठुलो भाँडोमा मासु राखिएको छ । शिक्षकहरु प्लेटमा मासु चिउरा राखेर खाइरहेका छन् । केही शिक्षकहरुको अगाडि वियरको बोतल छन् । भिडियो सुरुवातमा एक युवक हातमा ‘हाइल्याङ्डर’ नामको भोड्का लिएर हिडिरहेको प्रष्टै देखिन्छ । शिक्षकहरुको पार्टी चल्दैगर्दा भोजपुरी गीत मज्जाले घन्किरहेको छ ।

यसरी शिक्षाको मन्दिरमा मदिरा चल्नु एकदमै दुःखद् घटना भएको स्थानिय रामाकान्त यादव बताउँछन् । बालबालिकाहरुलाई शिक्षाको पाठ सिकाउने गुरुहरुलेनै विद्यालयमा मदिरा खाएर पार्टी मनाउने कार्य गलत मात्र नभएर निन्दनिय पनि भएको बताउँदै उनले यस्ता कार्यमा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गरे । विद्यालयमा यस्ता घटनाहरु यसअघि पनि हुने गरेको तर यसपटक मात्रै सार्वजनिक भएको उनको दावी छ ।

सो भिडियो खिचेका युवक विपिन यादवले विद्यालयजस्तो पवित्र ठाउँमा मदिरा खाएर शिक्षकहरु बसिरहेको सुचना पाएर आफुहरुले सो को भण्डाफोर गर्न भिडियो खिचेको बताए । आफुहरु शिक्षा सुध्रिनुपर्छ भन्ने उद्धेश्यले लागिपरेको जनाउँदै उनले शिक्षकहरुको यस्ता हर्कतले शिक्षकहरुलाई नैतिक रुपमा पतन गराएकाले यस घटनाको छानविन गरि दोषी उपर कारवाही हुनुपर्ने बताए ।

बालबालिकालाई रक्सी, चुरोट, सुर्ती खान हुन्न भनेर सिकाउने शिक्षकहरु आफै विद्यालय भित्र रक्सी खाएर रमाउने काम अक्षम्य भएकाले यसलाई भै गो नी त भनेर छुट दिन नहुने गाउँलेहरु बताउँछन् । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हुने सो विद्यालयमा शिक्षकद्धारा गरिएको यस्तो हर्कतले बाल मनोविज्ञानमा पनि असर गर्ने भएकाले यस्ता कार्यहरुलाई आगामि दिनमा निरुत्साहित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव भने आफुहरुबाट निकै ठुलो गल्ती भएको स्किार्दै यस घटनालाई लिएर आफुहरुले सार्वजनिक माफी मागिसकेको बताए । शिक्षाको मन्दिरमा शिक्षक स्वयमले रक्सी खानु नैतिकहिन काम भएकाले यसको आफुहरुले आत्मालोचना गरिरहेको जनाउँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता व्यक्त गरे । ‘हामीबाट ठुलो भूल भएको छ’ उनले भने, ‘यो घटनाले हामीले नैतिकता गुमायौं । त्यसको लागि हामी आत्मालोचना सहित सबैसँग माफी माग्छौं ।’

उनले विद्यालयमा रक्सी पिउनु गलत मात्र नभइ दुष्कर्मनै भएको भन्दै आफुहरु यस घटनाबाट पाठ सिकेर आगामि दिनमा थप सचेत भएर विद्यालय र विद्यार्थीको हितको लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानाध्यापक यादवका अनुसार सो दिन विद्यालयका विज्ञान शिक्षकले आफुखुसी पार्टी दिएका थिए । चन्द्रपुर नगरपालिकामा रहेको नुनथरमा पार्टी खान जाने पूर्ववत योजना भएपनि सो दिन पानी परेकाले विद्यालय छुट्टी भएर बालबालिका घर गइसकेपछि पार्टीको आयोजना गरिएको थियो ।

सो वार्डका वडाध्यक्ष तपेन्द्र राय यादवले आफूहरुले यस घटनालाई निके गम्भीर रुपमा हेरेको बताउँदै घटनाको विषयमा विद्यालयका शिक्षक र स्थानीयसहित छलफल गरेर थप कारबाहीको लागि नगरपालिकामा लेखि पठाएको बताए।

नगरप्रमुख श्याम यादवले यस घटनाको बारेमा आफूलाई जानकारी आउनेबित्तिकै सम्बन्धित विद्यालयको प्रधानाध्यापक, वडाध्यक्षसँग बुझेको र प्रधानाध्यापकलाई आज २४ घण्टे स्पष्टिकरणको पत्र काटेको जनाए । उनले स्पष्टिकरणको जवाफ आएपछि अभिभावक र वडाध्यक्षको निर्णय अनुसार अगाडिको कारवाही गरिने जनाउँदै गढिमाइ नगरपालिकाको शिक्षाको स्तर सुधार्न आफुहरु सदैव लागि परेको बताए। –न्युज24

प्रकाशित मिति: १८ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com