एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षसँगै प्रधानमन्त्री रनिल विक्रमासिंघे पनि कहाँ छन् भनेर सोमबार अबेरसम्म सार्वजनिक भएको छैन । सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री विक्रमासिंघेको वर्तमान अवस्थिति गोप्य राखिएको अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन् ।

विपक्षी दल तथा कैयौँ ट्रेड युनियनले शनिबार विशाल प्रदर्शन आयोजना गर्ने घोषणामाझ शुक्रबार नै राष्ट्रपतिका सुरक्षागार्डहरूले राजापाक्षेलाई सुरक्षित स्थानमा पुर्‍याउने व्यवस्था मिलाएको अनुमान गरिएको छ । राष्ट्रपति राजापाक्षेले सरकारी निवासबाट निस्किन भूमिगत बंकर प्रयोग गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यहाँबाट श्रीलंकाको नौसेनाको जहाजले उनलाई कोलम्बो बन्दरगाह हुँदै सुरक्षित जलक्षेत्रमा पुर्‍याएको हुन सक्ने आकलन गरिएको छ । मुलुकको परिस्थिति खराब हुँदै गए उनले विदेश पलायनको योजना गरेको राष्ट्रपतिनजिकका स्रोतलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । श्रीलंकाका स्थानीय मिडियाको समाचारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले पनि सोमबार राष्ट्रपति दुबई जाने तयारीमा रहेको लेखेको छ ।

यसका लागि उनी सोमबार कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको सैन्य अखडा पुगेको स्थानीय समाचार संस्थाहरूले स्रोत उल्लेख गर्दै लेखेका छन् । यसैबीच, राष्ट्रपति कार्यालयले गोटाबाया राजापाक्षे अझै पनि पदमा रहेको र उनका कुरा सभामुखमार्फत सार्वजनिक हुने बताएको छ । सभामुखका घोषणालाई राष्ट्रपतिको आधिकारिक अभिव्यक्ति मान्न कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com