काठमाडौं । झण्डै पाँच वर्षअघि बीबीसी नेपाली सेवाद्वारा सञ्चालित कार्यक्रम ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री र संयोगवश वर्तमान प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गुल्मीका एक युवाले खरो प्रश्न सोधे । उनको प्रश्न थियो, ‘लि क्वानलाई सिंगापुर दिँदा खेरी ढुँगा दिइएको थियो, उनले हीरा बनाए। तर, नेपाललाई तपाईंलाई दिँदा हीरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यसको कारबाही कसलाई गर्ने ?’

आक्रामक शैलीमा प्रश्न सोधिरहेका उनी त्यतिमै रोकिएनन्। उनले थप प्रश्न गरे, ‘सिंगांपुर, चीन, अमेरिका, बेलायतलगायतका देशमा अति उत्कृष्ट विद्यार्थीहरुमात्र प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधानमन्त्रीहरु अक्स्फोर्ड विश्वविद्यालयका छन् । नेपालको विगत ७० वर्षदेखि हामीले हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुन चाहिं पायौं ?’

उनको खरो शैलीको प्रश्नमा शेरबहादुर देउवा अलि आक्रोशित ढंगमा प्रस्तुत भए र जवाफ फर्काए, ‘तपाईं बर्ता बोल्दै हुनुहुन्छ । नेपालमा जुन विश्वविद्यालय छ, त्यही पढ्ने हो। यहाँ अक्स्फोर्ड कताबाट ल्याउने ?’

एउटा सामन्य युवाको प्रश्न गर्ने शैली र उत्तर दिने ठाउँमा रहेका देशका कार्यकारी प्रमुखको आक्रोशित शैलीले ती युवालाई देशको नेतृत्वबाट ‘फ्रस्टेड’ युवा वर्गमा एकाएक चर्चित बनायो । ती युवा थिए सागर ढकाल । साझा सवाल ‘ब्वाई’को इमेज बनाएका ती नै सागर ढकालले हाल आसन्न प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन्।

नेपालमा पढेलेखेका नेताहरु किन छैनन् भन्ने प्रश्न गर्दै आएका ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्सको अध्ययन गरेका छन्।

प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com