काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन शाहलाई शिक्षण संस्था सुधार्न आग्रह गरेका छन्।

मन्त्री पौडेलले काठमाडौं महानगपालिकाका मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका हुन्।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरेका हुन्।

‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन्? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्यो‍,’ शिक्षामन्त्री पौडेलले शाहलाई भने।

काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिए।

‘भौतिक पूर्वाधारसँगै नमूना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुपर्यो‍,’ मन्त्री पौडेलले भने, ‘महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ।’

शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ।

मेयर शाहले महानगरपालिकाभित्र भएका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए।

‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमको व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रुपैयाँ रकमको व्यवस्था गर्नुपर्यो।’

शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रुंगो हुने भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए।
रासस

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com