काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ६ पटक डडेलधुराबाट चुनाव जितिसकेका छन् । एकपटक त उनले डडेलुधरासहित कैलालीबाट पनि चुनाव जितेका थिए । देउवा पाँच पटक प्रधानमन्त्री समेत भइसकेका छन् ।

नेपाली काँग्रेसका अहिलेका नेतामध्ये कहिले चुनाव नहार्नेमध्येका देउवा र विजयकुमार गच्छेदार मात्र हुन् । गच्छेदारले तीनपटक गैरकाँग्रेसी सांसद बनेर चुनाव जितेका हुन् । यसपटक भने देउवा र गच्छेदार दुवैलाई सजिलो छैन ।

देउवाविरुद्ध डडेलधुरामा धमाधम उम्मेदवारी घोषण हुन थालेका छन् । उनलाई जिल्लामा भिजेका पूर्व काँग्रेस जिल्ला सभापति कर्ण मल्लको पनि चुनौती छ । ८० टेक्न लागेका देउवा डडेलधुराबाट चुनाव जितेपनि उनको त्यहाँको माटोसँग दूरी बढ्दै जान थालेको छ । अर्कोतर्फ, उमेरले पनि अप्ठ्यारोमा छन् । उनलाई बढ्दो जनआक्रोश र युवाहरुको उदयसँगै चुनौतीका कारण अबको चुनाव सजिलो छैन ।

दुई पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ पटक संसदको चुनाव लडेकामा एकपटक मात्र पराजय भोगे । उनी प्रधानमन्त्री भइसकेपछि भने चुनाव हारेका छैनन् । ७० कटेका ओलीले पार्टीको विधान नै परिवर्तन गरी अध्यक्ष बने । तर, संसदको चुनाव उनका लागि चुनौतीपूर्ण छ । झापा गृहक्षेत्र भएका ओलीलाई युवा उम्मेदवारहरुको चुनौती हुन सक्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शान्ति प्रक्रियापछि तीनपटक चुनाव लडे । उनी एकपटक काठमाडौंबाट पराजित भए तर सिराहाबाट जितेर संसदमा पुग्न सके । २ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डको चुनावी क्षेत्र चितवन हो । तर, उनलाई पनि चुनाव चुनौतीपूर्ण छ । ७० टेक्न लागेका प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् । यसकारण पनि उनका लागि अबको चुनाव चुनौतीपूर्ण बन्नसक्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पूर्वप्रधानमन्त्री हुन् । प्रधानमन्त्री हुनु अघि यी दुई नेता विगतमा चुनाव हारेको इतिहास छ । तर, प्रधानमन्त्री भएपछि हारेका छैनन् । माधव नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने चर्चा छ । उनले ध्यान पनि उतै केन्द्रित गरेका छन् । तर, माधव नेपालका लागि चुनाव सजिलो छैन ।

झलनाथ खनालका लागि पनि इलामको चुनाव सजिलो छैन। नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसको इलाममा मजबुत स्थिति देखिदैन । गठबन्धनमा तलमाथि भएमा खनाललाई चुनाव कठिन हुनसक्छ ।

माओवादी छाडेर समाजवादी सिद्धान्तमा चलेको भन्दै आएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई गोरखाबाट तीनपटक चुनाव जितिसकेका छ । एकपटक भने उनी गोरखा र रुपन्देहीबाट चुनाव लड्दा रुपन्देहीबाट पराजित भएका थिए । बाबुराम समाजवादी केन्द्र बनाउने अभियानमा छन् । उनले नेपाल समाजवादी पार्टी गठन समेत गरेका छन्। पटक पटक पार्टी परिवर्तन गरेकाले बाबुरामलाई फेरि गोरखाबाट चुनाव जित्न कठिन छ ।

प्रधानमन्त्री भइसकेका नेताले राज्य सञ्चालनको अनुभव मात्र सँगालेको हुँदनन् शक्तिको जोहो पनि गरिसकेका हुन्छन् । यसकारण पनि उनीहरुका लागि चुनाव जित्ने शक्ति रहन्छ । तर, नेपाली राजनीतिमा धेरै पूर्वप्रधानमन्त्रीहरु जिवित रहनु, अधिकांश वृद्धभक्ता खाने उमेरका भइसक्नुले नयाँ पीढीमा उनीहरुप्रतिको क्रेज घटेको छ । यसकारण पनि उनीहरुका लागि यसपटकको चुनाव चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com