काठमाडौं । काठमाडौं महानगरले यो वर्ष पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताका नामका संघ संगठनहरुलाई ठूलो अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वर्ष महानगरपालिकाले करिब ४ करोड रुपैयाँ यस्ता नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेको हो ।

यस्ता संस्था सम्बन्धित दलका नेता र कार्यकर्ताहरुले चलाइरहेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा यसरी दिन लागिएको अनुदान सुविधाबारे उल्लेख छ ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा रहेको ‘गणेशमान सिंह फाउन्डेसन’लाई प्रयोजन नखुलाई ५० लाख अनुदान दिने गरी बजेट पास भएको छ । यो फाउन्डेसनको भवनमा फर्निचर राख्न थप ५० लाख बजेट महानगरले नै दिएको छ ।

त्यसैगरी महानगरपालिकाले एमाले नेता मदन भण्डारीको नाममा खुलेको ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’लाई ५० लाख बजेट अनुदान विनियोजन भएको छ । एमाले नेता पुष्पलालको नाममा खुलेको ‘पुष्पलाल स्मृति केन्द्र’लाई ५० लाख अनुदान दिइँदैछ ।

त्यसैगरी महानगरपालिकाले कांग्रेस नेता वीपी कोइरालाको नाममा खुलेको ‘जननेता वीपी कोइराला स्मृति ट्रष्ट’लाई २ करोड अनुदान उपलब्ध गराउँदैछ । संघीय सरकारले सशर्त पठाएको यो अनुदान रकम महानगरले नै ट्रस्टलाई उपलब्ध गराउनेछ ।

कांग्रेस नेतृको नाममा रहेको ‘मंगलादेवी प्रतिष्ठान’को तजबिजीमा खर्च गर्ने गरी ५० लाखको एक सीप प्रवर्द्धन कार्यक्रमका लागि पनि महानगरले बजेट दिएको महानगरका एक अधिकारीले जानकारी दिए ।

यसअघिका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पनि भागबन्डाकै शैलीमा आफ्नो दलसम्वद्ध संघ संस्थालाई अनुदान बाँडेका थिए ।

मदन भण्डारी फाउन्डेसनलाई महानगरले २०७४ यताका ४ वर्षमा ५ करोड ३५ लाख अनुदान दिएको थियो, महानगरले फाउण्डेसन अन्तर्गतकै मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई गत आर्थिक वर्षमा मात्र ७० लाख दिएको थियो ।

तत्कालीन उपमेयर हरिप्रभा खड्गीले आफैं महासचिव रहेको मंगलादेवी प्रतिष्ठानलाई गत वर्ष ६७ लाख बजेट हालेकी थिइन् भने गणेशमान सिंह फाउन्डेसनलाई ६० लाख ५० हजार र गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई १ करोड ५ लाख अनुदान दिलाएकी थिइन्।

महानगरमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेन साह निर्वाचित भएपछि यसरी हुने अनुदान वितरण रोकिने अपेक्षा थियो । तर, यस्तो अनुदान वितरणको काम अझै बढ्दै जाने देखिएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com