झापा । गृहजिल्ला दौडमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन्।

झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिए।

ओलीले पार्टीसहित हरेक भातृ संघसंगठनहरुले टोल-टोलमा सङ्गठन, घर-घरमा सदस्यको नारा लिएर अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताए।

‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्‍यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन। यति धेरै भोट कसरी बदर हुन्छ?,’ कार्यक्रममा सहभागी कार्यकर्ता तथा नेताहरूलाई उनले प्रश्न तेर्साए।

उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए। ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ। मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ उनले भने।

उनले झापा जिल्ला आन्दोलनको उर्वभर भूमि भएको र नयाँ युगको सुरुवात यहीँबाट भएको बताउ। ‘यो जिल्ला लालकिल्ला पनि हो। २०४८ सालको निर्वाचनमा ‘मेची अञ्चल, चार जिल्ला, लालकिल्ला’ भनेर हामीले नारा लगाएका थियौं। अब फेरि लालकिल्लाको नारा लगाउने बेला आएको छ,’ उनले भने।

उनले झापाको १५ पालिकामध्ये दमकको परिणामबारे देश विदेशले चासो देखाएको बताए। उनले जिल्लाको १५ वटा पालिका जित्न नसकेको बताउँदै थपे, ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो। अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ।’

बहुदल आएपछि २८ वर्षमध्ये २१ वर्ष सरकारको नेतृत्व कांग्रेसले गरेको उनको भनाय छ। विगत स्मरण गराउँदै उनले भने, ‘संसद्मा मैले प्रधानमन्त्रीलाई एउटा प्रश्न गरेका थिएँ- कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो काम गरेको बताइदिनुहोस् प्रधानमन्त्रीज्यु? उहाँले जवाफ दिँदा मैले सुने तर त्यसबारेमा केही बोल्नु भएन।’

उनले अहिले देशको विकास ठप्प भएको र बैङ्कमा पैसाको अभाव भएको आताए। ‘अर्थतन्त्रमा तरलताको अभाव देखिएको छ। त्यसप्रति सरकार गम्भीर देखिएन,’ उनले भने।

तीन दिनदेखि जिल्ला दौडमा रहेका ओली भोलि शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com