काठमाडौं । हृदयन्द्र शाह नेपालका अन्तिम नवयुवराज हुन् । राजसंस्था हुँदा उनी बालकै थिए र नवयुवराज भनिन्थे । हृदयन्द्रलाई आफू नवयुवराज भएको याद पनि नहुनसक्छ । ६ वर्षका बालक हृदयन्द्र राजसंस्थाको अन्तसँगै नारायणहिटीबाट आफ्ना हजुरबुवा तत्कालीन राजा ज्ञानेन्द्र शाह र मातापितासँगै नारायणहिटि दरबारबाट बाहिरिनुपरेको थियो ।
हृदयन्द्र २१ वर्ष पुगे । उनी अमेरिकामा अध्ययनरत छन् ।
हृदयन्द्र बालक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई ‘बेबि किङ’ को एउटा प्रस्ताव पठाएका थिए । ज्ञानेन्द्रलाई गद्दी छाडेर नातिलाई गद्दीमा राख्न गिरिजा प्रसाद कोइरालाले विभिन्न माध्यमले खबर पठाएका थिए ।
गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले सार्वजनिक रुपमै ‘बेबि किङ’ को सम्भावना औल्याएकी थिइन् । गणतन्त्रको माग गरिरहेकाहरुलाई त्यो अभिव्यक्तिले चिढ्यायो । सुजाता आलोचित भइन् । तैपनि, पिता गिरिजाप्रसाद कोइरालाले राजसंस्थाका लागि ठाउँ राख्ने चाहनाबारे खुलाइन् ।
कोइरालाले ‘बेबि किङ’ भन्नुमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर अलोकप्रीय हुनु र कोइराला स्वयंलाई राजा ज्ञानेन्द्रप्रति असन्तुष्टि हुनु पनि थियो । अर्कोतर्फ, तत्कालीन युवराज पारस शाह निकै अलोकप्रीय थिए ।
यसकारण कोइरालाले दरबारनिकटस्थहरुमार्फत उक्त प्रस्ताव पठाए । तर, ज्ञानेन्द्र शाहले त्यसलाई ठाडै अस्वीकार गरेको बताइन्छ ।
राजसंस्था अन्त भएको १५ वर्ष पुगेको छ । तर अहिले देशमा राजसंस्था फर्कने सम्भावनाबारे विश्लेषण हुने गरेको छ । राजसंस्था अन्त्यपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडे तर देश छाडेनन्। विश्वमा राजसंस्था अन्त्य हुँदा राजाले देश छाडेको या मारिएको इतिहास छ। तर बिश्व इतिहासमा यो एउटा यस्तो घटना हो जहाँ राजसंस्थाको अन्त्यपछि राजपरिवारले देश छाडेनन्। यसको दुईवटा कारण हुनसक्छ, पहिलो कारण राजा ज्ञानेन्द्रको राष्ट्रप्रेम र अर्को नेपालमा नै सुरक्षीत महसुस गर्नु।
यतिबेला राजसंस्था पुनःस्थापनाको माग गर्ने मूलधारका राजनीतिक शक्तिहरु पनि छन् । यतिसम्मकी प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेभित्र पनि राजसंस्था फर्काउने पक्षधरहरु उल्लेख्य संख्यामा छन् । उनीहरुमध्ये केहीले मात्र मुख फोरेका छन् ।
राजसंस्था फर्किन त्यति सजिलो छैन । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन । ज्ञानेन्द्र शाह वृद्धावस्थामा पुगिसकेकाछन् । पारस शाह अलोकप्रीय छन् । राजसंस्था फर्किएमा राजा बन्ने भनेको हृदन्द्र शाह नै हो ।
विगतमा गिरिजाप्रसाद कोइरालाले भनेका बेबि किङ उनै हृदयन्द्र शाह नै थिए । समयले हृदयन्द्रलाई राजगद्दीमा पुर्याउने सम्भावना भने देखिन्छ।
प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार
प्रतिक्रिया