काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा एक घरभित्र मृत भेटिएका एकै परिवारका चारको शव विभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ । काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो ।

हत्या हुनेमा श्रीमान­–श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।

गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जका अनुसार आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए।

‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’

मेयर महर्जनका अनुसार एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको छ भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका छन्।
दिनेशले घाँटी काटेको अवस्थामा फेला परेको उनले बताए।

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।

पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com