काठमाडौं । नेकपा एमालेले धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोध गरेको छ।

नेकपा एमालेको धरान उपमहानगर कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गते बराह बचत तथा ऋण सहकारी पीडितहरुले तोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगर प्रमुख हर्क साम्पाङले उनीहरुले उठाएका विषयमा दिएको गैरजिम्मेवार अभिव्क्तिका कारण तोडफोडको घटना भएकोले त्यसको जिम्मेवारी स्वयं स्थानीय सरकार प्रमुखले लिनुपर्ने बताएको हो।

घटनापश्चात् पनि सामाजिक सञ्जालमार्फत् पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको एमाले नगर अध्यक्ष हर्क जंग एभेङले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विगत केही महिनादेखि बराह बचत तथा ऋण सहकारीको सन्दर्भलाई लिएर विभिन्न सामाजिक सञ्जाल, मिडियाहरु मार्फत् एमाले र एमालेको नेतृत्वमाथि अनर्गल प्रचारबाजी र नियतबस बदनाम गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ।

प्रमुख साम्पाङको अभिव्यक्तिले गर्दा भएको उक्त दिनको घटनामा संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई विभिन्न जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव विथोल्न खोजेको आरोप एमालेको छ।

एमालेले बराह सहकारीका सञ्चालक, सेयर सदस्यहरु कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता, समर्थक हुनुले सिर्जना भएको आर्थिक समस्या र समाधानका लागि गरिएको संघर्षसँग कुनै पनि राजनीतिक सम्बन्ध नभएको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालको संविधान बमोजिम सहकारी संस्था सम्बन्धी कार्यक्षेत्र स्थानीय सरकारको भएको स्मरण गराउँदै न्याका लागि पुगेकाको समस्या पहिचान र निदानको साटो आफ्नो असक्षमता लुकाउन एमालेलाई मुछ्ने कार्य भएको भन्दै सचेत गराएको जनाएको छ।

राजनीतिक दलले विभिन्न कालखण्डका गरेको राजनीतिक आन्दोलन पश्चात् प्राप्त उपलब्धिको आधारमा स्वतन्त्रताका नाराले सामपाङ सत्तामा पुगेको र बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक दल र दलका नेता कार्यकर्तालाई धावा बोल्ने, प्रतिशोध साध्ने र व्यवस्थानै कमजोर बनाउने दुस्साहस गर्न खोजे राजनीतिक दल प्रतिरक्षामा उत्रिन बाध्य हुने एमालेले चेतावनी दिएको छ।

राजनीतिक गुण र दोषको आधारमा समर्थन र बिरोध रहने भए पनि धरानका लागि विकास र परिवर्तनको पक्षमा एमाले रहेको विज्ञप्तिमा जनाइएको छ।

 

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com