काठमाडौं । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य परेको हो।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स  कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर पारेको थियो। सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ती बुट खरिद गरेर जिल्ला–जिल्लामा पठाइएको थियो। १३ करोड ५० लाख रूपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ। ‘अहिले आएका बुटको गुणस्तर निकै कमजोर रहेको छ, घामपानीमा उप्किने खालको छ, यही बुट लिएर बजारमा किन्न जाँदा १४ सयदेखि १५ सय रूपैयाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई २ हजार ६ सय ५० रूपैयाँ तिरेको छ। जसले गर्दा आधाभन्दा बढी रकम अपचलन भएको बुझिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रूपैयाँ प्रस्ताव गर्ने कम्पनीले पाएको थियो। सो कम्पनीले बुट खरिद गरेर सबै जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। प्रहरीले यस पटक राजनीतिक शक्ति केन्द्रको दबाबमा केन्द्रबाटै खरिद गरेको थियो। यसअघि खरिद प्रक्रिया जिल्लाजिल्लाबाटै हुने गथ्र्यो। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएदेखि नै खरिद प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरिएको थियो। तर, अहिले भने माथिको आदेश भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट खरिद गरेर सम्बन्धित कार्यालयमा सामान पठाई भुक्तानी दिन आदेश दिएको थियो। सोही अनुसार भुक्तानी भइसकेको छ।

स्रोतका अनुसार गुणस्तर परीक्षणसमेत नगरी १३ करोड ५० लाख रूपैयाँबराबरको डिएमएस बुट गुपचुप रूपमा खरिद गरी वितरण गरिएको हो। यसो गर्दा नेपाल प्रहरीलाई ६ करोड रूपैयाँभन्दा बढी घाटा लागेको स्रोतको दाबी छ। २०७७ माघ २९ गते खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डिएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको बुट अहिले मापदण्ड बेगर परीक्षण नगरी जिल्लाजिल्लामा पठाउँदा केन्द्रबाटै करोडौं रूपैयाँ घोटाला भएको स्रोतको दाबी छ। अहिले खरिद गरिएको बुट कम गुणस्तरको परेको प्रहरी कर्मचारीले नै गुनासो गरेका छन्।

तत्कालीन समयमा डिएमएस बुटको बोलपत्रमा डिएमएस बुट कम्पनी र एसियन फुटवेयर जेभीले प्रस्ताव हालेका थिए। डिएमएस बुट कम्पनी विराट थापाको हो। कम्पनीले भारतको चेन्नईस्थित एसजिएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट पेस गरेको थियो। जुन रिपोर्ट मूल्यांकनका क्रममा नक्कली भएको पुष्टि भएको छ। किर्ते गुणस्तर रिपोर्ट पेस गर्ने डिएमएस बुट कम्पनीको बैंक ग्यारेन्टीबापतको रकम २०७७ फागुन १३ गते प्रहरीले जफत गरिसकेको छ। प्रहरीले किर्ते गुणस्तर रिपोर्ट पेस गर्ने सोे कम्पनीलाई कालोसूचीमा राख्न फागुन १४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा पठाएको थियो।

अहिले प्रहरीले बुट अभाव भएको जनाउँदै फास्ट ट्र्याकबाट खरिद गर्दा परीक्षण नै नगरी पठाएको हो। कर्नवाल बिजनेस ट्रेडर्स  कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर हालेको र उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रुपैयाँ प्रस्ताव गरेको कम्पनीले पाएको थियो। सो कम्पनीले बुट खरिद गरेर हरेक जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। ‘प्रहरी प्रधान कार्यालयबाट मोडर्न सुजबाट उत्पादित सामान लिनू र उसैलाई भुक्तानी दिनू भन्ने निर्देशन आयो, त्यहीअनुसार सामान लियामान हेर्दा सबै गुणस्तरहीन रहेछ,’ एक जिल्ला प्रहरी कार्यालयका एसपीले भने।

‘हेर्दा सार्वजनिक खरिद ऐनअनुसार खरिद गरेको देखिन्छ तर मापदण्ड नपुगेको गुणस्तरसमेत परीक्षणसमेत नगरी पठाएका कमसल बुट ६ महिना पनि टिक्दैन,’ एक जुनियर प्रहरी अधिकारीले भने। प्रहरीले एक पटक बुट पाएपछि दुई वर्षपछि मात्रै पाउने गरेका छन्। तर, अहिले पठाइएको बुट गुणस्तरमा कमजोर भएकाले ६ महिना पनि नटिक्ने भएपछि प्रहरी कर्मचारीलाई अतिरिक्त भार पर्न गएको छ। तर, नेपाल प्रहरीका प्रवक्ता डिआइजी राईले यसबारे आफूलाई जानकारी नभएको बताए। त्यसैगरी प्रबन्ध शाखाका डिआइजी दीप थापाले जुन कार्यालयले किनेको हो, उसैले भुक्तानी दिएको दाबी गरे। ‘केन्द्रबाट भुक्तानी गरिएको होइन, बाहिरबाट भुक्तानी गरिएको हो, उतै किनेका होलान्,’ डिआइजी थापाले भने। तर, प्रहरी प्रधान कार्यालयबाटै खरिद गरेर मोडर्न सुज लिमिटेडको नाममा भुक्तानी गरिएको थियो।

यसअघि गुणस्तर रिपोर्ट किर्ते गर्ने क्राउन टेक्सटायलका सञ्चालक पीताम्बरकुमार मुन्कालाई पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको थियो। तर, प्रहरी प्रधान कार्यालयले कर्मचारीले लगाउने बुटमै दोब्बर मूल्य किन तिर्न लगायो भन्ने प्रश्न उठेको प्रहरी प्रधान कार्यालयका एक कर्मचारीले भने। यसअघि पनि विराट थापालाई जोगाएका कारण अहिले उनकै मिलेमतोमा डिएसएम बुटको गुणस्तर परीक्षण नभएको स्रोतको दाबी छ। यसमा प्रहरी प्रधान कार्यालयका अधिकारी र राजनीतिक शक्ति केन्द्रको पनि मिलेमतो रहेको स्रोतको दाबी छ। ‘सामान काठमाडौंबाट आउँछ, भुक्तानी दिनु भन्ने परिपत्र गरिएको रहेछ, सामान आउँदाचाहिँ गुणस्तहीन सामान आयो। हामीले यस्तो सामान बुझ्दैनौं भन्दा पनि माथिको आदेश भन्दै बुझाइयो,’ जिल्लाका एक कर्मचारीले भने। नेपाल प्रहरीको बुट खरिदमा मात्रै होइन, कपडा पनि तीन महिनामै च्यातिने गरेको गुनासो रहेको छ। प्रहरीले खरिद गर्ने हरेक सामान गुणस्तहीन हुन थालेपछि यसको खरिद प्रक्रियामै प्रश्न चिह्न उठ्न थालेको गृह मन्त्रालयका एक अधिकारीले बताए।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com