काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै ब्याजदर बढाउन सन्देश दिएको छ । बुधबार जारी भएको परिपत्रअनुसार बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने छन् ।

हाल निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने व्यवस्था छ । तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक दर र नीतिगत दरमा वृद्धि गरेको छ । यसअनुसार अब बैंकहरुले पनि तत्कालै निक्षेपको ब्याजदर परिमार्जन गर्न सक्नेछन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को लागि ६ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत तरलता सुविधाको साथै ब्याजदरमा वद्धि गरेको थियो । राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तरगतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दैनिक तरलता सुविधालाई आवश्यकता अनुसार ओभरनाइट बनाउँदै बैंकदरमा उपलब्ध गराउने बताएको छ । स्थायी तरलता सुविधा (एसएलएफ) मा कडाई गर्दै बैंकको अघिल्लो साताको स्वदेशी मुद्राको निक्षेपको १ प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी ५ दिन अवधिसम्मको लागि उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । एसएलएफ ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिमा नै समावेश भएर कार्यान्वयन भइसकेको छ ।

एसएलएफमा कडाइ गर्दै तरलता व्यवस्थापनमा दवाब बढाएको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप गरी अन्तिम ऋण दाता सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । यस्तै अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गर्दै त्यसको ७० प्रतिशत केन्द्र्रिय बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

 

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com