काठमाडौं । डेढ वर्षअघि लकडाउनको समयमा ब्लाइन्ड डेट रियालिटी शो सामाजिक सञ्जालमा एकाएक चर्चामा आयो । उक्त शो ले खासगरी युवापुस्ता र टिनएजर्समा लोकप्रियता कमाएपछी हिमालय टेलिभिजनले दोश्रो सिजनका लागी ब्लाइन्ड डेट रियालिटी शो संग सम्झौता गरेर टेलिभिजन बाट प्रसारण सुरु भएको थियो। तर, कार्यक्रममा मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि उक्त शो लाई हिमालय टेलिभिजनले प्रसारण बन्द गरेको छ।

पहिलो सिजन हिट भएपछि हौसिएको निर्माण पक्षले छोटो अन्तरालमै दोस्रो सिजन सुरु गर्यो, जुन अहिले प्रशारण भइरहेको छ । तर, पहिलो सिजनको जस्तो चार्म अहिले छैन।

पहिलो सिजनको लोकप्रियतालाई हेरेर हिमालय टिभीले भ्यूजको आकर्षणमा ब्लाइन्ड डेट भित्र्याएको थियो । गत वर्षको माघमा उक्त कार्यक्रमका निर्देशक रोसन दाहालले टिभीसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार गत जेठबाट प्रशारण सुरु भएको हो । तर, पहिलो एपिसोडबाटै समस्या देखियो ।

पैसा धेरै खर्च गरिएको दोस्रो सिजन कन्टेन्टका हिसाबले भने झूर छ । दर्शकलाई मनोरञ्जन दिने धुनमा क्यारेक्टरहरुलाई जोकरका रुपमा प्रेजेन्ट गरिएको छ । द्विअर्थि र अश्लिल संवादहरु बोल्न लगाइएको छ । घिनलाग्दा हर्कतहरु हुने गरेका छन् । यसभित्र रियालिटी केही पनि बाँकी छैन ।

प्रशारण गर्नै नमिल्ने सी ग्रेडका कन्टेन्टहरु उत्पादन गर्न थालेपछि हिमालय टेलिभिजनले उक्त शोलाई ‘किक आउट’ गरेको हो । सम्झौताको शर्त उल्लंघन भएकाले यसलाई निरन्तरता दिन नसकिएको टेलिभिजन स्रोतले बतायो ।

‘जति सेन्सर गर्दा पनि प्रशारण गर्न कठिन भएपछि हामी सम्झौता रद्द गर्न बाध्य भयौं,’ टेलिभिजन स्रोतले भन्यो ।

युवापुस्तामा विकृति फैलाउने यस्तो शोलाई राष्ट्रिय टेलिभिजनले स्थान दिन नहुने जनगूनासो बढिरहेको थियो । अन्ततः टेलिभिजनले आठौं एपिसोडपछि यो शोलाई बिदा दिएको छ । हिमालय टेलिभिजनबाट ब्लाइन्ड डेट अन्तिमपटक गत असार १० गते प्रशारण भएको थियो ।

स्क्रिप्टेड भए पनि पहिलो सिजनले दर्शकको आँखामा छारो हाल्न सफल भएको थियो । यसमा विजेता बनेका सिलु र गोल्डी नामका पात्रले शो सकिएपछि विवाह नै गरेका थिए । यद्यपि, उनीहरु शोमा आउनु अगावै श्रीमान–श्रीमती थिए भन्ने चर्चा नचलेको होइन । जे भए पनि शो आफ्नो उद्देश्यमा सफल देखिएको थियो ।

तर, पहिलो सिजनको स्तर दोस्रोमा कायम रहन सकेन ।
यो छाडा शो बन्द गर्नुपर्ने भनेर धेरैले कमेन्ट गर्न थालेको देखिन्छ । निर्माण पक्ष भने टिकटकमा भाइरल भएका फुटेजहरु हेरेर नै दंग छ।

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com