काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।
‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।
आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाहीले बताए । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।
प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार
प्रतिक्रिया