काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् ।
ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् ।
बालेन भन्छन, ‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन।’
आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण भनेका छन् ।
‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ’ उनले भनेका छन् ।
प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार
प्रतिक्रिया