काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए।

उनले प्रदेश सभा चुनावमा भाग नलिने भनेर गरिएको घोषणबारे प्रष्ट पार्ने प्रयास गर्दै लामिछानेले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नु पर्ने आफूहरुको माग रहेको बताए ।

प्रदेश सभामा दल दर्ता गर्नबाट चुकेका कारण भाग नलिने घोषणा गरेको भन्ने आरोप लागेको भन्दै उनले त्यसको खण्डन गरेका छन्।

आफूहरुले प्रदेश सभा चुनावमा भाग नलिने निर्णय केन्द्रिय समिति बैठकबाटै गरेर दल दर्ता गरेको भन्दै लामिछानेले भने, ‘हामीलाई झुक्किए भन्ने साथीहरु नै हामी झुक्कियौं भनेर झुक्किनुभयो ।’

उनले आफू उम्मेदवारी दिने क्षेत्रको बारेमा अध्ययन गरिरहेको पनि बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै आफूले कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए ।

‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए।

 

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com