काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि फेसबुक स्टाटस मार्फत निरन्तर प्रहार गरिरहेका छन्।

केही दिन अघि काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरको विषयलाई लिएर बालेन्द्रमाथि टिप्पणी गरेपछि उनीहरुबिच सामाजिक संजालमा दोहोरी नै चलिरहेको छ।

काठमाडौं आएर हर्कले फेसबुक स्टाटस लेख्दै भनेका थिए, ‘ काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’

आफ्नो फेसबुकको स्टाटसको प्रभाव भन्दै साम्पाङले त्यसको केही दिन पछि फेरि धरान फर्किएर स्टाटस लेखे – ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्सेकम काम त शुरु गरे।’

हर्कको उक्त स्टाटसमा काठमाडौंका मेयेर बालेन्द्रले कमेन्ट गर्दै जवाफमा भनेका थिए – ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी।’

बालेन्द्रको कमेन्टमा हर्कले रिप्लाई दिएनन् तर उनले अर्को दुई स्टाटसमा बालेन्द्र लक्षित जवाफ लेखेका छन् ।

त्यसपछि बालेन्द्रको कमेन्टपछिको पहिलो स्टाटस लेख्दै हर्कले भने, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’

त्यसपस्चात फेरि दोस्रो स्टाटसलेख्दै हर्कले भने, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

केहीदिन हर्क र बालेनबीच वाकयुद्ध रोकिएको थियो । तर हर्कले बिहीबार पुन फेसबुक स्टाटस लेख्दै बालेनप्रति कटाक्ष गरेका छन् ।

उनले भनेका छन् ‘मैले के भने कसरी भने भन्दापनि मैले भनेको कुराले कस्तो र कति तरङ्ग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु । सी द रिजल्ट नट द वे ।’

बिहीबार नै उनले दोस्रो स्टाटस लेखेका थिए – ‘सत्य स्वीकार्न गाह्रो हुन्छ तर सत्य सत्य नै हो । अब बिस्तारै काठमाडौं तातिएर फोहोर व्यवस्थापन गर्नेछ । यी सब घोचपेच नभएको भए हुँदैन थियो । धन्यवाद युवा संघका युवाहरु र सबैलाई ।’

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com