तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन्। तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् ।

यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलको भनाइ छ। नेता पौडेलले भने, ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु।’ आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलले जिकिर गरे

बि.सं २०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताउँदै आएका छन्।

नेता पौडेलले भने, ‘उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको कृष्णकुमार श्रेष्ठले भनिसक्नुभएको छ।’

‘शीर्ष नेता, तनहुँका केन्द्रीय सदस्यहरुसँगसमेत छलफल गरेको छुँ, जिल्लाका साथीहरुसँग पनि छलफल भइरहेको छ,’ नेता पौडेलले ग्लोबल नागरिकसँग भनें, ‘औपचारिक रुपमा निर्णय गरेर अगाडि बढ्छु।’

नेपाली कांग्रेसका तनहुँका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलले बताए। सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने पौडेलको तयारी छ।

प्रकाशित मिति: ४ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com