काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र राणानिवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए।

आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका राणा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन्। राणाले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए।

यसैक्रममा बालुवाटारस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सरकारी निवासबाहिर आइतबार एक युवतीले मिडियालाई लामो अन्तर्वार्ता दिइन् । आफू निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी ‘सुनिधि राणा’ भएको बताउँदै उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गरेकी थिइन् ।

‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्‍यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् । आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरुद्ध खनिएकी ती युवती राणाकी आफ्नै छोरी भने नभएको खुलेको छ ।

पारिवारिक स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् । स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् । ‘भतिजी वा धर्मपुत्री भए थाहा भएन । अन्तर्वार्तामा देखिएकी युवती चोलेन्द्र शमशेरकी साख्खै छोरी भने हैनन्’, एक आफन्तले भने ।

उनले आफू चोलेन्द्र शमशेरको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन।

छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जवरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ।

यो हेर्नुहोस्:

को हुन् त त्यि युवती?

राणानिवासबाट निस्किँदै गर्दा अन्तर्वार्ता दिएकी युवती हुन्– दैलेखकी मीना जाेशी । उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा-बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जाेशीका दुई छोरीमध्ये उनी जेठी हुन् ।

न्यूज एजेन्सी नेपालले उनको अन्तर्वार्ता लिएको थियो । न्यूज एजेन्सीको भिडियो सामग्री व्यापक प्रयोग भएपछि सो अन्तर्वार्ता एकाएक भाइरल भएको थियो । पत्रकारले नाम सोध्दा ती युवतीले केही अड्किएर सुनिधि राणा भनेकी छिन् । उनीसँगै रहेकी अर्की युवती भने चाेलेन्द्रशमशेर राणाकी जेठी श्रीमती उमातर्फकी छाेरी श्रृष्टी हुन्। ‘नजरबन्द’मा परेको भनेका प्रधानन्यायाधीशकी छोरीको परिचय दिएपछि आफूहरूले महत्त्व दिएको न्यूज एजेन्सीका कार्यकारी प्रमुख कृष्णा पौडेलले बताइन्।

चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनि भिडिओमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको छोरी नभएको निष्कर्ष निकालेका छौं’ भनेको छ।

न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडिओ, समाचार सेवा दिन्छ। उक्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकोले माफी माग्दछौं र जिम्मेवारी लिन्छौं भनिएको छ।

चाेलेन्द्र- सुनिधि नाता

सुनिधिले आफू नाताले चोलेन्द्रशमशेरकी नातिनीबुहारी भए पनि बोलीचालीमा ‘बुवा’ भन्ने गरेको बताइन् । उनका अनुसार, उनी चाेलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन् । शान्तिशमशेरका नाति वरदानशमशेर राणाकी श्रीमती भएकाे उनले बताइन् । त्यस नाताले आफूले छोरी भनेर मिडियालाई अन्तर्वार्ता दिएको उनको दाबी छ । ‘विवाहपछि श्रीमान्‌ले दिएको नाम हो सुनिधि । एउटा नाताले म बुहारी नातिनी हो, अर्को नाताले छोरी हुँ,’ उनले भनिन् ।

उनले बताएअनुसार उनी चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन्। शान्ति शमशेरका नाति बरदान शमशेर राणाकी श्रीमती भएको उनले बताइन्।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com