काठमाडौं । विभिन्न सामाजिक सञ्जालमा नेपालमा सञ्चालित राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले चर्को विज्ञापन गरेको भेटिन्छ । विज्ञापनकै कारण ‘इन्ड्राइभर’ले बजारमा थुप्रै प्रयोगकर्ता समेट्न सफल भएको छ । तर पछिल्लो समय ‘इन्ड्राइभर’को लापरवाही र सुरक्षामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालहरुमा गुनासो बढ्न थालेको छ । नेपालमा दर्तविनै गैरकानुनी ढंगले चलेको इन्ड्राईभरमा दुर्घटना, चोरी, लुटपाटलगायत घटनाहरु सार्वजनिक भईरहेका छन्। यसरी गैरकानुनी रुपमा चलेको इन्ड्राइभरको बिज्ञापनमा नेपाली सेलिब्रेटिहरु हात धोएर लागिपरेका छन्।

रसियाबाट सुरु भएर अहिले अमेरिकामा मुख्य कार्यालय भएको उक्त कम्पनीले नेपालसहित ४५ वटा देशका ६४५ भन्दा बढी सहरहरूमा आफ्नो सेवा सुचारु गरेको जनाएको छ । तर नेपालमा विदेशी कम्पनीले सेवा सुरु गर्दा पालना गर्नुपर्ने न्यूनतम सर्तहरू यस कम्पनीले पालना गरेको छैन । नेपालमा गैह्र कानुनी रूपमा सञ्चालनमा रहेको उक्त कम्पनी सेवा प्रवर्द्धनमा नाम चलेका सेलिब्रेटीहरूनै जोडिएका छन् ।

यो समाचार तयार पार्दासम्म गायक प्रताप दास र गायिका सुवानी मोक्तानले आफ्नो सामाजिक सञ्जालबाट उक्त कम्पनीको प्रचार गरेको पाइएको छ।

दर्ता विना नै सञ्चालन

अहिले इनड्राइभरका प्रयोगकर्ता हजारौंको संख्यामा बढेका छन्। इनड्राइभर सिमित यात्रुमाझ लोकप्रिय बन्दै गएपनि नेपाल सरकारको सम्बन्धित कुनैपनि निकायले इनड्राइभरलाई चिन्दैन । अर्थात, इनड्राइभर बिनादर्ता नै चलिरहेको छ ।

न यो कानुनी रूपमा दर्ता भएको छ, न त यसले दुर्घटना बिमाको व्यवस्था नै गरेको छ । राइडरलाई तालिम दिने वा गुनासो सुन्ने सपोर्ट सिस्टम पनि छैन । उद्योग विभागका एक कर्मचारी भन्छन्, ‘हामीसँग इनड्राइभर कम्पनी दर्ता भएको छैन । अमेरिकी कम्पनी इनड्राइभरको नेपालमा अहिलेसम्म आधिकारिक कार्यालय समेत छैन ।

सन् २०१३ बाट सञ्चालनमा आएको इनड्राइभर अन्तर्राष्ट्रिय राइड सेयरिङ वा राइड हेलिङ प्लेटफर्म हो । विश्वका करिब ४२ वटा देशमा सञ्चालनमा रहेको यस एप्स नेपालमा भने कहिलेदेखि सञ्चालनमा आयो र यसको आधिकारिक व्यक्ति वा कम्पनी को हो भन्ने कुनै जानकारी छैन । राज्यको कुनै निकायमा दर्ता नभइ इन्ड्राइभर एप्समार्फत सञ्चालनमा आउँदा एकातिर राजस्व चुहावट भएको छ भने अर्कोतिर यातायात सुरक्षामाथि नै चुनौती थपिएको छ ।

यातायात व्यवस्था ऐन, २०४९ र सो ऐनलाई व्यवस्थित गर्न बनेको संशोधित ऐन, २०७४ ले कुनै पनि सवारी साधन ऐन बमोजिम सम्बन्धित प्रदेश यातायात कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । हाल मुलुकमा सञ्चालित राइड सेरिङ कम्पनीको नाममा सञ्चालित निजी मोटरसाइकलहरुलाई अर्को व्यवस्था नभएसम्म निजी (रातो नम्बर प्लेटमै) सञ्चालन गर्न दिनेगरी सर्वोच्चले आदेश गरेको छ । तर, अहिलेसम्म सरकारले राइड सेयरिङ सम्बन्धमा उचित ऐन, तथा कानुनी व्यवस्था गर्न सकेको छैन ।

बार्गेनिङ गरेर यात्रु ठग्दै ‘इन्ड्राइभर’

अहिले राइड सेयरिङ एप ‘इन्ड्राइभर’ यात्रु सँग नयाँ तरिकाले बार्गेनिङलाई प्रोत्साहन गरिरहेको छ । यसले सामाजिक सञ्जालमा नै ‘तपाईंले तोकेको शुल्कका जानुस्’ भनेर खुलेआम विज्ञापन गरिरहेको छ ।

यसको वेबसाइटमा सिटि राइड, कुरियर, इन्टरसिटी र कार्गोको सेवा देखाइएपनि नेपालमा भने यसको मोटरसाइकल, ट्याक्सी र इन्टरसिटी (एउटा शहरबाट अर्को शहरमा जान प्रयोग गरिने सवारी साधन) सञ्चालनमा छन् । यात्रुले यसमा राइड रिक्वेस्ट गर्दा कम्पनीले एउटा शुल्क तोकेको हुन्छ । त्यो शुल्कमा कुनै राइडरले एसेप्ट नगरे यात्रुले भाडा बढाउन सक्ने विकल्प एपमा छ ।

इनड्राइभरको यो वार्गेनिङ गर्ने काम सरासर ठगी भएको अधिवक्ता तथा उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्र बताउँछन् । उनि भन्छन्, ‘राइड सेयरिङ एप’ले बार्गेनिङ शैली अपनाउनु गलत हो । यो उपभोक्ता लुट्ने काम मात्र हो । यसमा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ ।’ इन्ड्राइभरको यो शैली ट्याक्सीको बार्गेनिङकै परिष्कृत रूप भएको उनि बताउँछन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बागमती प्रदेशमा चालू आर्थिक वर्षको अहिले सम्म करिव २ हजार मोटरसाइकल दुर्घटनामा परेका छन् । यसमा विभिन्न राइड सेयरिङ सर्भिसको नाममा यात्रु बोक्ने बाइकको हिस्सा पनि छ । बढ्दो प्रयोगसँगै नियन्त्रण र नियमन गर्ने काम कुनै पनि सरकारी निकायबाट भएको छैन । जसका कारण यात्रुहरुमा सुरक्षा चुनौति थपिएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com