गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् ।
केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् ।
उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् । ‘उहाँ (डा. भट्टराई) अब सत्ता राजनीतिबाट टाढा बस्ने र पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुनेगरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ’, एक नेता भन्छन्, ‘७० वर्ष पुग्ने बेलामा नयाँ पुस्तालाई छाडिदिनुपर्छ र हामीले राजनीतिक वैचारिक रूपमा नयाँ पुस्तालाई सघाउनुपर्छ भन्नुभएको छ ।’
शनिबार नेसपा, काठमाडौंले आयोजना गरेको चियापानमा अतिथि बनेर गएका प्रचण्डले आफू र बाबुराम भटट्राई अब सँगै उभिने र यसको ठूलो अर्थ हुने बताएका थिए ।
समृद्धि र विकासको नयाँ मोडल दिनुपर्ने भन्दै प्रचण्डले उमेरको हिसाब गर्दै भनेका थिए, ‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेका छौं । बढी भए एक दशक । एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’
तर भट्टराई निकट नेताहरुले भने चुनाव नलड्ने निर्णय नगर्न दबाव दिइरहेका छन् । एक नेता भन्छन्, ‘यो उहाँको मात्र निजी विषय होइन, हामीसँग पनि जोडिएकाले यो चुनावमा दायाँबायाँ गर्न पाउनुहुन्न भनेका छौं । उहाँ मान्नुभएको छैन ।’
प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार
प्रतिक्रिया