एजेन्सी । रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । केहीबेर अघि मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गर्नुभयो । रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो । रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू–भागका लागि लडेको दाबी पनि गरे।

कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको पनि बताए।

सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

 

प्रकाशित मिति: १५ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com