काठमाडौं । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ र रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।

रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् ।

एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् । ‘ नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ’, भुसालले भनेका छन्, ‘राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।’

भुसालको यो भनाइबाट उनी राजनीतिमा कुनै न कुनै रुपमा सक्रिय रहने प्रस्ट बुझिएको छ । तर तत्काल कुन पार्टीमा आवद्ध हुने भन्नेबारे भने उनले खुलाएका छैनन् । तर भुसाल निकट स्रोतहरूका अनुसार भुसाललाई सत्ता गठबन्धनले गठबन्धनमा आवद्ध दलका चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । ‘

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरिरहनुभएको छ । तर उहाँले अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो । यता माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ ।

‘गठबन्धनका शीर्ष नेताहरुले फोनमार्फत चुनाव लड्न प्रस्ताव गरिरहनुभएको छ । तर  घनश्याम कमरेडले निर्णय गरिसक्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो, ‘आन्तरिक छलफल जारी छ ।’ यस्तै रावललाई पनि गठबन्धनका नेताहरुले आफ्नो कित्तामा आएर निर्वाचन लड्न आग्रह गरेको बुझिएको छ । तर रावलले मुख खोलिसकेका छैनन् ।

भुसालले पार्टी छोडेको घोषणा गरिसकेको अवस्थामा रावलले पनि एमाले छोड्ने तयारी गरेको रावल निकट स्रोतले दावी गरेको छ । रावल र भुसाल दुवै गत मंसिरमा सम्पन्न एमाले महाधिवेशनमा ओलीको चाहना विपरित अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए ।

यसैबीच रावल र भुसालबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

शनिबार दिउँसो तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । चुनाव लड्ने हुँदा तत्काल रावल र भुसाल दुवैको विकल्प स्वतन्त्र चुनाव लड्ने कि कुनै दल वा गठबन्धनबाट लड्ने भन्ने दुई विकल्प छन् ।

प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com