काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेन्द्र साहका काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी महोत्तरी एकडाराका हुन् । तर कर्मभूमी जनकपुर भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएको उनले बताए । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, साँस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।
तराई मधेसमा देखिएको विकृति र विसंगतिको समाधान राजनीतिक प्रणालीबाट मात्र सुधार गर्न सकिने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । आफूले चाहेको भए राजनीतिक दलबाट पनि टिकट लिन सक्ने उल्लेख गर्दै उनले सबैको सर्वप्रिय व्यक्ति बन्न स्वतन्त्र नै उम्मेदवारी दिएको बताए ।
‘तपाईले स्वतन्त्र उम्मेदवारी दिनुमा बालेनको प्रभाव रहेको छ कि’ भनि राखिएको जिज्ञासामा उनले यसमा बालेनको कुनै प्रभाव नरहेको दावी गरे ।
धनुषा ३ मा सत्ता गठबन्धनबाट लोसपाका कार्यकारिणी सदस्य अनिल कुमार झा, जसपा र एमाले गठबन्धनबाट जुली महतोले पनि उम्मेदवारी दिएका छन् । उनीहरु प्रतिस्पर्धा गर्नका लागि साहले स्वतन्त्रमा उम्मेदवारी उनले दिएका हुन् ।
प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार
प्रतिक्रिया