प्यूठान । प्यूठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले आफू उम्मेद्वार बनेर गाउँ आउनका लागि ४० वर्ष लागेको बताएका छन्। उम्मेद्वार मनोनयनपछि जन्मगाउँ झिमरुक गाउँपालिका १ सौतामारेमा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै थापाले ४० वर्षसम्म निरन्तर गरेको संघर्षपछि पहिलोपटक जनतासँग उम्मेद्वार बन्ने हैसियत बनाएर गाउँ आएको सुनाए। उनको अभिव्यक्तिपछि जन्मगाउँका नागरिकहरु भावुक बनेका थिए।
आफू जन्मे हुर्केको माटोमा गाउँलेसँग आर्शीवाद लिन पहिलो चुनावी कार्यक्रम बनाएर आएको थापाले सुनाए। जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनले सौतामारेबासीलाई जानकारी गराए। थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन्।
गाउँमा अहिलेसम्म भएको विकास निर्माण आफ्नै योगदानमा भएको दाबी गर्दै आफू सत्तामा वा सत्ताबाहिर जहाँ भए पनि गाउँ र समग्र जिल्लाको विकासमा भूमिका खेलिरहेको विश्वास दिलाए। ‘मलाई उम्मेद्वार बनेर गाउँ आउन ४० वर्ष लाग्यो’,सूर्य थापाले भने,‘पार्टीले एकल निर्णय गरेर उम्मेद्वार बनाएको छ। निर्वाचन कार्यालयमा दश हजार रुपैयाँ तिरेर उम्मेद्वार बन्नका लागि मात्र होइन, हजुरहरुको माया र आर्शीवादले जनताको प्रतिनिधि बनेर प्यूठान बदल्ने अठोट हो।’ उनले जनताको रोजाइमा आफू उम्मेद्वार बनेर आएको समेत सुनाए। प्यूठानको अनुहार बदल्ने आफूसँग स्पष्ट भिजन भएको थापाले सुनाए।
एमालेका झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोखरेलले गाउँदेखि केन्द्रसम्मको बस्तुस्थिति बुझेको नेतालाई जनताको प्रतिनिधि बनाउन जिल्लाबासीलाई आग्रह गरे। उनले झिमरुकबासी सूर्य थापाको उम्मेद्वारी झिमरुकका लागि गौरब बनेको समेत सुनाए।
प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार
प्रतिक्रिया