गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार हुन् टिकादत्त पोखरेल ।

वि. सं. १९८० कात्तिक १४ गते जन्मेका उनले सोमबार आफन्तजन र छरछिमेकलाई घरमा आमन्त्रण गरी टिकाटाला गरेर र केक काटेर जन्मदिवस मनाए ।

नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्तिसेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ लडेका उनी नेपाल हिन्दुराज्य हुनुपर्ने बताउँछन् ।

उनले अहिलेका नेताहरुले देशलाई लुटेर आफूले कमाएका, सहिदको सपनालाई लत्याएका, सबै काम विदेशीको इशारामा गरेकोले गोरखा र समग्र देशको हितका लागि आफुले उम्मेदवारी दिएको बताए ।

विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सफल भएको भनेर जतिसुकै उद्घोष गरे पनि सिंहदरबारका चारै ढोका सर्वसाधारणका लागि सधैं बन्द रहेको भन्दै त्यसलाई खुलाउन आफू उम्मेद्वार बनेको उनले दाबी गरेका छन् । साथै हिन्दु राष्ट्र स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

वीपी कोइरालाका सहयोद्धा रहेर लामो समय काम गरेका उनी नेपाली कांग्रेस(वीपी)मा आवद्ध छन् । अहिले सोही पार्टीबाट परेवा चुनाव चिन्ह लिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । देश हिन्दुराष्ट्र बनाउन भुमिका खेल्ने, नेपाली नागरिकलाई वैदेशिक रोजगारका लागि  बिदेशीनु पर्ने अबस्थामको अन्त्य गर्ने , समग्र गोरखाको जनताको जिवनस्तर उकास्नुका साथै जनताको चाहाना अनुसारको काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com