काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् ।
प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार ८९ जना पुरुष र १ महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’
प्रवक्ता राईका अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा १ र बागमती प्रदेशमा ५ जना रहेका छन्। त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ७ जना छन् ।
काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।
प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार
प्रतिक्रिया