काठमाडौं । एमाले गोरखाले जिल्लामा सत्ता गठबन्धनबाट धाँधली भएको दाबी गरेको छ । सत्ता गठबन्धनबाट गोरखाका निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरूको नामबाट मतदान गर्ने काम भएको एमालेको दाबी छ ।
एमाले जिल्ला कमिटी गोरखाका सचिव काजीराम रोकाले आइतबार साँझ एक विज्ञप्तिमार्फत सत्ता गठबन्धनबाट अन्य उमेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्ने काम भएको आरोप लगाएका छन् ।
“विन्द्रावती मावि भीमसेनथापा मसेल १, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा भीमसेन थापा मसेल १, आरूघाट गाउँपालिका मान्वु १, सरस्वती आधारभूत विद्यालय सिरानचोक हर्मी, हिमालय मावि बारपाक सुदलीकोट गापा सौरपानी, सूर्यज्योती मावि बारपाक सुलिकोट ताकु पार्वती आधारभूत विद्यालय धार्चे गाउँपालिका ३ उहिया जस्ता मतदान केन्द्रमा भएका निर्वाचन विरोधी क्रियाकलापको घोर भर्त्सता गर्दै उक्त क्रियाकलापप्रति एमाले गोरखा असहमति जाहेर गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
साथै घटनाको निष्पक्ष छानबिन गरी पुन: निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।
प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार
प्रतिक्रिया