काठमाडौं । माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्व सभामुख घर्तीले आफ्नो हारलाई स्वभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् ।

‘निर्वाचनमा जीत–हार स्वभाविक प्रक्रिया हो, यसलाई मैले स्वभाविक रुपमा लिएकी छु । आवधिक निर्वाचनमा एकपटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हुँदैन र हुन पनि सक्दैन । आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ । आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन् ।

‘निर्वाचनका दौरान आफ्नो अमूल्य मत प्रदान गर्नुहुने तमाम आदरणीय मतदाताप्रति धन्यवाद ज्ञापन गर्दछु । मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु । यस क्षेत्रका मतदाताका हरेक सुखरदुःखमा म सधैं सॅगै हुनेछु,’ उनले लेखेकी छन्

 

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com