काठमाडौं । उम्मेदवारी दर्ता गर्नुभन्दा केही घण्टा मात्र अगाडि सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा) का लागि त्यो निर्णय फलदायक भएन । स्वयम् पार्टी अध्यक्ष उपेन्द्र यादव नै मधेसमा उदीयमान शक्ति जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित हुन पुगे ।
राउत ३५०४२ मतका साथ विजयी हुँदा उपेन्द्र १६९७९ मतमा सीमित भए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आफूलाई अपमान भएको बताउँदै उनी एमालेसँग गठबन्धन गर्न पुगेका थिए । तर, उनको त्यो निर्णयलाई मधेसी जनताले अस्वीकृत गरिदिएका छन् ।
चुनाव प्रचारका क्रममा पनि सत्ता गठबन्धन छोडेको विषयमा उठेको प्रश्नको जवाफमै उनको दैनिकी बित्ने गरेको थियो । मतपरिणाम आउँदा पनि त्यसको असर देखिएको छ ।
२०६३ को माघमा तत्कालीन अन्तरिम संविधान जलाएर एकाएक मधेस राजनीतिको केन्द्रबिन्दु बनेका यादवलाई विखण्डनकारी राजनीतिबाट मूलधारको राजनीतिमा अवतरण गरेका राउतले पहिलो प्रयासमै पाखा लगाइदिएका छन् ।
यो चुनावमा यादव आफू मात्र पराजित भएका होइनन्, २०७४ को शक्ति पनि अहिले उनीसँग छैन । न त उनको पार्टीले संघीय संसद्मा राम्रो उपस्थिति जनाउने अवस्था बनेको छ, न त मधेसको सत्ता नेतृत्वलाई निरन्तरता दिने ।
त्यसो त उपेन्द्रलाई कांग्रेससँगको गठबन्धन पनि फापेको थिएन । स्थानीय तहको चुनावमा जसपाको भाग परेको विराटनगर महानगरमा उनका छोरा अमेन्द्र यादव उपमेयरमा पराजित भए । जबकि त्यसबेला मेयरमा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका थिए । त्यति मात्र होइन, जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि जसपाका उम्मेदवार कांग्रेसका बागीसँग पराजित भएका थिए ।
प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार
प्रतिक्रिया