नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयलाई लिएर नेपाली कांग्रेसभित्र सरकारको आलोचना भएको छ।

मुलुकको आर्थिक अवस्था बिग्रँदै गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसतर्फ हेक्का नराखी अर्थमन्त्री जनार्दन शर्माका कुरा सुनेर गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै कांग्रेसभित्रै आलोचना सुरू भएको हो।

यसबारे कांग्रेसका नेताहरूले बुधबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा कुरा उठाउने भएका छन्। कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा पनि उपस्थित हुन्छन्।

कांग्रेस नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालले अहिले गभर्नरलाई चलाउने बेला नभएको बताए। उनी कांग्रेस प्रतिपक्षीमा हुँदाका छाया अर्थमन्त्री पनि हुन्।

‘गभर्नर महाप्रसादजी अलि बढी एउटा पार्टीसँग लोयल देखिनुभएको भन्ने ‘कप्लेन’ थियो,’ रिजालले भने, ‘तर यही कारणले उहाँलाई निलम्बन गर्न हुँदैनथ्यो।’

निकै लामो समयदेखि राष्ट्र बैंकलाई एउटा पार्टीका मानिसको प्रभुत्व भएको संस्थाका रूपमा विकास गर्न खोजेकोजस्तो देखिएको पनि उनले बताए।

‘राष्ट्र बैंकमा बसेका मानिसहरूले के-के गर्नुभएको छ, उहाँहरूले नै सोच्नुपर्ने हो,’ उनले भने, ‘आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा समस्या आइपरेको छ। यस्तो परिस्थितिमा गभर्नरलाई चलाउने बेला होइन, यो गलत समयमा गरियो।’

गभर्नरले सरकारलाई सहयोग नगरेको र गोप्य सूचनासमेत चुहाएकाले उनीमाथि छानबिन गर्नुपरेको जिकिर अर्थमन्त्री शर्माले गरेका छन्।

‘हामीलाई सहयोग गरेन भनेर जुन भाषा भनिएको छ। राष्ट्र बैंक भनेको स्वायत्त संस्था हो। त्यसलाई कहीँ न कहीँ ध्यानमा राख्नुपर्थ्यो,’ उनले भने, ‘गठबन्धनको ध्यान सत्ता कसरी प्राप्त गर्ने भन्नेमा केन्द्रित छ, सरकार कसरी चलाउनेमा छैन।’

रिजालले गभर्नर निलम्बन गरेर अहिले झन्झट नित्याउने समय नभएको बताए। ‘यो नयाँ झन्झट सुरू गर्नुपर्ने बेला होइन भन्ने लाग्छ,’ उनले भने, ‘तर गभर्नरमाथि निलम्बन यो पहिलो होइन। पहिले पनि भएका थिए। विगतभन्दा अहिले कानुन फरक होला। विगतबाट पनि हामीले पाठ सिक्नुपर्ने हो।’

उनले अर्थ मन्त्रालय चलाउन अर्थतन्त्रबारे भने ज्ञान भएकै मानिस अर्थमन्त्री हुनुपर्ने पनि बताए।

‘अर्थतन्त्रबारे गहिरो ज्ञान नभईकन बजेट, मन्त्रालय र देश चल्दैन,’ उनले भने, ‘अर्थका ज्ञान नभएका मानिसबाट अर्थ मन्त्रालय चल्दैन भन्ने कुरा कहीँ न कहीँ स्वीकार्नुपर्छ। यो स्वीकार नगरेसम्म समस्याको समाधानको खोजी हुन सक्दैन।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेल गभर्नरका गतिविधिमाथि शंका लागे सरकारले छानबिन गर्न सक्ने भए पनि मन्त्रीले प्रतिशोध साँधेको हो कि होइन भन्ने हेरिनुपर्ने बताउँछन्।

‘गभर्नरमाथि शंका लागे सरकारले छानबिन गर्न सक्छ। तर प्रतिशोध साँधेको हो कि, के हो हेरिनुपर्छ,’ उनले भने, ‘अहिले आर्थिक सूचक केही राम्रा र केही नराम्रा छन्। अहिले समन्वयकारी भूमिका खेलेर राजनीतिभन्दा माथि देश भन्ने ठानेर अर्थतन्त्र सुधार गर्न लाग्नुपर्छ।’

गभर्नर अधिकारीलाई निलम्बन गर्नुभन्दा पनि सुधार गरेर जान सरकारले आवश्यक निर्देशन दिनु पर्नेमा त्यसो नगरिएको उनले बताए।

‘गभर्नरलाई बोलाएर आवश्यक निर्देशन दिन सकिन्थ्यो। गल्ती भएको भए सुधार गरेर जान भन्न सकिन्थ्यो। अहिले आर्थिक सूचक खराब छन्। सबैले इगो राखेर, आफ्नो अधिकार प्रयोग गर्छु भनेर मात्र हुँदैन,’ पोखरेलले भने, ‘सरकारले पनि समन्वयकारी भूमिका खेल्नुपर्दछ। अर्थतन्त्रलाई फोकल पोइन्टमा राखेर समस्या समाधान गर्नुभन्दा पनि हामी प्रतिशोधका रूपमा अघि बढ्यौं, यो ठिक भएन।’

उनले कांग्रेसका बैठकहरू पनि गठबन्धन र चुनावी रणनीतिबारे केन्द्रित हुने गरेको तर विकास निर्माणका गतिविधिबारे खासै छलफल हुने नगरेको बताए।

‘केन्द्रीय समिति बैठक पनि चुनाव र गठबन्धनजस्ता राजनीतिमा फोकस छ। विकास र अर्थतन्त्रका कुरा उठाउने महेश आचार्य, मीनेन्द्र रिजालजस्ता नेता यसपालि केन्द्रीय समितिमै पुग्न पाएनन्,’ उनले भने, ‘सबै पार्टीमा कोरा राजनीतिक एजेन्डाले स्थान पाउन थाल्यो, आर्थिक अवस्था सुधार गर्ने एजेन्डालाई दलहरूले कम प्राथमिकता दिए।’

पोखरेलले पनि अर्थ बुझेको व्यक्ति मन्त्री भए मात्रै राम्रो काम गर्न सक्ने बताए।

‘विगतमा पनि विष्णु पौडेल, वर्षमान पुन, कृष्णबहादुर महराहरू अर्थमन्त्री भए। यसबीचमा नेपालमा बजेटको अनुशासन नै उल्लंघन भयो। अर्थ नजानेका मानिस अर्थमन्त्री भएपछि बजेट बनाउने प्रक्रिया र स्थापित मान्यता सबै भंग भए,’ उनले भने, ‘कति आन्तरिक ऋण लिने, कति वैदेशिक ऋण लिने भन्नेजस्ता अनुशासन भंग भयो।’

०७४ मा मा बनेको केपी शर्मा ओली सरकारले पनि आयात प्रतिस्थापनमा काम गर्न नसकेको उनले बताए। तीन वर्ष चलेको ओली सरकारकै पालामा थाती रहेका समस्या अहिलेको पाँच दलीय गठबन्धनको सरकारसम्म आइपुगेको उनी बताउँछन्।

‘पुँजीगत खर्च गर्न नसक्ने, फजुल खर्च घटाउन नसक्ने उही परम्परागत रूपमा अहिलेको सरकार गएको छ,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले ०४८ मा कर्मचारी घटाउनेजस्ता अलोकप्रिय भए पनि काम गरेर फजुल खर्च घटाएका थिए। ०७४ पछिका तीन वर्ष ओली सरकार राजनीतिक रूपमा सक्षम भए पनि काम गर्न सकेन।’

गठबन्धनको सरकारले पनि अर्थतन्त्रलाई सुधारको बाटोमा लैजान नसकेको उनी बताउँछन्।

‘गठबन्धन सरकार पाँच मुख पारेर पाँचतिर फर्केका छन्। उनीहरूको आर्थिक दर्शन फरक-फरक छ। पुँजीगत खर्च गर्ने मन्त्रालयहरू कम्युनिष्ट पार्टीहरूले ओगटेका छन्। सरकार रूढिवादी तरिकाले अघि बढेको छ, सुधारको बाटोमा छैन,’ उनले भने,‘यस्तो बेलामा कोरोना र रूस-युक्रेन युद्धले आपूर्ति रोकिएको, उत्पादन घटेको र पर्यटक आवागमन नभएको, निर्यात कम भएको र बजारमा पैसा नआएकोले चुनौती नित्याएको छ।’

यस्तो चुनौतीपूर्ण समयमा अर्थमन्त्री शर्माले प्रतिशोध साँध्ने काम गरेकाले परिस्थिति थप जटिल बनाएको पोखरेलको आरोप छ।

‘राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, वित्त आयोग र नेपाल राष्ट्र बैंकबीच समन्वय गरेर राजनीतिभन्दा माथि देश भनेर अगाडि बढ्नुपर्ने बेला एकअर्काले नियम, विनियमका पानाहरू पल्टाएर इगो साँध्ने काम गरेको छ, यसले देशलाई फाइदा गर्दैन,’ पोखरेलले भने।

अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन सरकारले तुरून्तै फजुल खर्च घटाउनु पर्ने पनि उनको धारणा छ।

‘सरकारले मासिक रूपमा फजुल खर्च घटाउनुपर्छ। सर्वदलीय सहमति बनाएर डिल्लीराज खनाल नेतृत्वको रिपोर्ट हुबहु लागू गर्नुपर्छ, त्यसले फजुल खर्च घटाउँछ,’ पोखरेलले भने, ‘लगानी माहौल बनाउन कानुनी र व्यवहारिक रूपमा देखिने समस्या समाधान गर्नुपर्छ।’

उनले प्रधानमन्त्री कार्यालयमा वार रूम खडा गरेर पुँजीगत खर्च बढाउने गरी काम गर्नुपर्ने पनि बताए।

‘अहिले नै हामी श्रीलंकाको अवस्थातिर त जाने होइन तर सकारात्मक दिशातिर अर्थतन्त्र गइरहेको छैन,’ उनले भने।

कांग्रेस नेता शेखर कोइरालाले देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बन गरिनु गैरजिम्मेवारीपन भएको बताएका छन्।

मंगलबार निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्थामा जाने बताए।

‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्था छ। त्यो अर्थतन्त्र ओरालो लागेको बेलामा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिएको छ त्यसले झन् अप्ठ्यारो परिस्थितिमा जान्छ भन्नेमा दुईमत छैन,’ उनले भने, ‘किनभने नेपालको अर्थतन्त्रलाई विश्व बैंकलगायतले सुष्म ढंगले हेरिरहेका छन्।’

अर्थमन्त्री शर्मासँग कुरा मिलेन भनेर गभर्नर निलम्बन गर्न नहुने उनले बताए।

‘अर्थतन्त्र ओरालो लागेको बेलामा अर्थमन्त्रीसँग तालमेल मिलेन रे, उहाँले कुरा सुन्नु भएन रे भनेर निलम्बन गर्नु गैरजिम्मेवार हो,’ उनले भने।

उनले ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताए।

‘अर्थ मन्त्रालयले गलत काम गरेको छ भने रोक्ने काम राष्ट्र बैंकले गरिरहेको हुन्छ,’ उनले भने।

कोइरालाले सुपारी, मरिच, छोकडा, मटरदानाको आयात किन भइरहेको छ भन्ने प्रश्न गरेका थिए। यस्ता बस्तु आयात गर्दा अर्बौं विदेशी रकम खर्च हुने उनको भनाइ छ। ‘यति धेरै सुपारी किन चाहियो नेपाललाई? त्यसको जवाफ सरकार र अर्थमन्त्रालयले दिनुपर्छ,’ उनले भने।

यस्ता आयात रोक्न खोजेर गभर्नरले गल्ती नगरेको उनले बताए। ‘उहाँका केही कमीकमजोरी होलान् तर अर्थतन्त्र ओरालो लागेको बेलामा गभर्नर निलम्बन गर्नु सरासर गैरजिम्मेवारपन हो,’ उनले भने।

अर्थमन्त्री शर्माले भने सोमबार पत्रकार सम्मेलन गरेर आर्थिक सूचकहरू ठिकै रहेको र देश ठूलो संकटमा नरहेको बताएका थिए। उनले गभर्नर निलम्बन पनि कानुनसम्मत रहेको बताएका थिए।

‘राष्ट्र बैंककै ऐनमा भएको प्रावधानअनुसार गभर्नर हटाइएको हो। यो कानुनसम्मत कुरा हो। छानबिन समिति बनाएका छौं, समितिको रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ, एक महिनामा रिपोर्ट आउला,’ उनले भनेका थिए।

पछिल्लो समय अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यका नाममा अमेरिकाबाट आएको रकमका विषयमा अर्थमन्त्री शर्मा जोडिएका थिए। शंकास्पद रकम आएको खाता रोक्का गर्न निर्देशन दिएर गभर्नर अधिकारीले अनुसन्धानको दायरामा ल्याएकोमा उनीसँग अर्थमन्त्री रूष्ट भएका थिए। त्यो रकम छुटाउन अर्थमन्त्रीले पहल गरेका थिए।

अर्थमन्त्री शर्माले अर्थतन्त्र ध्वस्त बनाउन योगदान गरिरहेको आरोप कांग्रेसका एक पदाधिकारीले लगाए।

‘गभर्नर निलम्बन गर्ने सरकारको निर्णय हामीलाई चित्त बुझेको छैन,’ कांग्रेसका ती पदाधिकारीले भने, ‘हटाउनु पर्ने अर्थमन्त्री हो, उनले अर्थतन्त्र बुझेका रहेनछन्।’

उनले कार्यसम्पादन समितिमै आफ्नो कुरा राख्ने भन्दै नाम उल्लेख गर्न चाहेनन्।

यस्ता विषयमा प्रधानमन्त्रीले हेक्का गर्नुपर्नेमा उल्टै अर्थमन्त्रीका गल्ती ढाकछोप गर्न खोजिएकोमा आफूहरूको असहमति रहेको उनले बताए।

‘अर्थमन्त्रीले गभर्नरसँग ‘इगो’ लिए, सामान्य विषयलाई लिएर निलम्बन गरे,’ उनले भने, ‘अर्थमन्त्री शर्माले गलत कदम चाले पनि त्यसतर्फ सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीको हेक्का पुगेन।’

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि छानबिन गर्ने निर्णय गरेको थियो। छानबिनमा परेपछि गभर्नर स्वत: निलम्बनमा परेका थिए।

अर्थतन्त्रका सूचक बिग्रँदै गएका बेला सबै पक्षसँग समन्वय गर्दै जानुपर्नेमा गभर्नरलाई नै निलम्बन गरिनु गम्भीर गल्ती भएको कांग्रेसका ती पदाधिकारीले बताए।

‘अहिले अर्थमन्त्रीले मन्त्रालयका अधिकारी, पूर्वअर्थमन्त्रीहरू, अर्थशास्त्रीहरू लगायतसँग गम्भीर छलफल गर्नुपर्ने बेला हो,’ उनले भने, ‘संवेदनशील अवस्थामा ड्याङ्ग गभर्नर हटाउने होइन। अर्थमन्त्रीले गल्ती गर्दै जाने प्रधानमन्त्रीले ढाकछोप गर्ने?’

गभर्नर निलम्बन गर्ने निर्णयमा गम्भीर विमति रहेको कुरा कार्यसम्पादन समिति बैठकमा राख्ने तयारी रहेको उनले बताए।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com