काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग–व्यवसायमा लाग्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि सरकार गम्भीर रहेको आश्वस्त पारे।

सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धिलगायतले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको उनले प्रस्ट पारे। उनले मन्त्रिपरिषदमा निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताए।

‘अर्थतन्त्रमा देखिएका समस्या समाधान नभएपश्चात् प्रधानमन्त्रीसँग मन्त्रिपरिषदमा नै व्यवसायीहरूको समस्यालाई राखेर प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु। व्यवसायीका समस्यालाई सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्न आग्रह गरेको छु,’ उनले भने, ‘व्यवसायीहरू व्यवसायमा हुनुपर्छ, सडकमा आउने होइन। व्यवसायीहरूले सडक रोज्ने होइन। कुनै पनि व्यवसायी सडकमा जानुपर्दैन। सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरूले सडक किन रोज्ने ?’

मन्त्री शर्माले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए। उनले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिनसमेत व्यवसायीलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com