काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासामु चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु मुख्य कुरा भएको बताएका हुन्।
उनले जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत आग्रह गरे। अध्यक्ष नेपालले विगतमा जनतालाई पूरा हुन नसक्ने आश्वासनहरू दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए।
उनले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसकेपनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।
अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताए। उनले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा राखे।
प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार
प्रतिक्रिया