काठमाडौं । फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको बुधबारको आदेशसँगै शोभराज आज जेलमुक्त भएका हुन् । दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि शोभराजलाई सुन्धारा कारागारको गोलघरभित्र राखिएको थियो ।

सर्वोच्चले कारागार नियमावली २०२० को नियम २९ (२ क) अनुसार जेलमुक्त गर्न आदेश गरेको हो । उक्त नियमअनुसार ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधार र गम्भीर प्रकारको रोग लागेमा ७५ प्रतिशत कैद काटिसकेका कैदीको कैद सजाय मिनाहा गर्न सकिने व्यवस्था छ ।

सोही कानुनी व्यवस्थाका आधारमा सर्वोच्चले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स फर्काउन आदेश गरेको थियो । सर्वाेच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो । शोभराज २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका थिए ।

उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइने छ । उनलाई फेरि नेपाल आउन नपाउने गरी उनको देश पठाउने तयारी भइरहेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको हो ।

यस्तो छ शोभराजको अपराधको शृंखला 

७८ वर्षअघि ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भारतीय बुबा र भियतनामी आमाबाट चार्ल्सको जन्म भयो । तर, उनका बुबाले चार्ल्सलाई छोरो स्वीकार गरेनन् । फ्रान्सेली उपनिवेश भियतनाममा जन्मिएका उनले फ्रान्सेली नागरिकता लिए । उनी विभिन्न देश घुम्म थाले ।

सुरुवाती दिनहरूमा चार्ल्समाथि फ्रान्समै विभिन्न खाले सनातिना अपराध गरेको रिपोर्ट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित छन् । तर, सिरियल किलर भने सन् १९६३ मा एसियाका देशहरूमा घुम्म निस्केपछि बनेका हुन् ।

शोभराजको निशानामा आफूजस्तै घुम्न आएका पर्यटक र युवती हुने गर्थे । शोभराजमाथि नेपालबाहेक थाइल्यान्ड, भारत, टर्की र इरानमा गरी २० भन्दा बढी हत्याको आरोप छ । नेपालबाहेकका जेलबाट भने शोभराज जेल तोडेर भागेका हुन् ।
यसअघि फ्रान्सेली पर्यटकलाई विष खुवाएर हत्या गरेको अभियोगमा भारतको तिहाड जेलसमेत बसेका थिए । त्यहाबाट पनि उनी भाग्न सफल भएका थिए । नेपाल आउनुअघि उनी थाइल्यान्डमा पक्राउ परेका थिए भने उनलाई मृत्युदण्ड भइसकेको हुन्थ्यो ।

थाइल्यान्डमा उनीमाथि पाँचवटा व्यक्तिहत्याको आरोप छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com