प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उप्रान्त नेपालका प्राविधिक प्रधानमन्त्री भनियोस् । आत्मा अन्तैकतै भएर शरिर नेपालमा भएका कारण उनी प्राविधिक रुपले मात्रै नेपाली प्रधानमन्त्री भएको अनुभूति भइरहेको छ । प्राविधिक नै सहि प्रधानमन्त्री प्रचण्ड बेजोडका देशभक्त छन् । तर मानिसहरु शंका गर्छन्– त्यो देशचाहिँ कुन हो, जसको प्रचण्ड भक्ति गर्छन् ?
जुन देशका प्रधानमन्त्री छिमेकीसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरमा परेर आफ्ना जनतालाई विषादी मिसाइएको तरकारी खुवाउन तयार हुन्छन्, प्रधानमन्त्रीले भक्ति गर्ने देशबारे प्रश्न उठ्ला कि नउठ्ला त ?
विषादी जाँचेर मात्रै तरकारी खान्छौं भन्न पनि नपाइने देशका जनता हामीलाई अहिले बनाइँदैछ । ‘अब यस्तो चल्दैन’ भन्ने हिम्मत समेत नभएका प्रधानमन्त्री भएको देशका जनता स्वतन्त्र हुनु र पराधिन हुनुमा के अन्तर हुन्छ ?
छिमेकीको तरकारी किनेर खाइदिनु नै उसका लागि सबैभन्दा ठूलो उपकार हो । खेत त हाम्रो तिर पनि छ । पानी हाम्रो तिर पनि छ । फलाउने पौरखी जनता नेपालतिर पनि छन् । हाम्रै तिरबाट बगेर गएको पानी सिंचित गरेर उब्जाएको तरकारी किनेर खाइ दिन्छौं भने छिमेकीका लागि त्यति नै बढी खुसीको कुरा हुनुपर्ने हो । तर उसले किरा मार्न हालेको विषादी समेत नजाँची खाइ दिनुपर्ने चाहिँ किन ?
विषादी हालेको तरकारी मन्द विष हो । विष खाएपछि नेपाली जनता मर्छन् त प्रधानमन्त्रीज्यू ।
‘अब नेपाली जनता मर्नु के अनौठो भयो र ? पहिले जनयुद्धमा पनि मरेकै थिए, भूकम्पमा पनि मरेकै हुन् । अहिले फेरि पनि मर्छन्’ भन्ने नै तपाईलाई लागेको हो भने हाम्रो कुनै गुनासो छैन । यदि यस्तो होइन भने विषादी नजाँची तरकारी किन खाइदिनु पर्ने ? यसको जवाफ भारतसँग होइन, तपाईबाट सुरुमा चाहिँयो । नेपालले नियम बनाएपछि भारतले त तोकिएभन्दा बढी विषादी नराखी तरकारी पठाउला । नेपालका लागि भारत झेल्न भन्दा प्रचण्ड झेल्न चर्को परिरहेको छ ।
अबको पाँच वर्षमा तीन वटा सरकार बन्दैछन् देशमा । पहिलो त प्रचण्ड नेतृत्वको बनिसकेकै छ । यसपछि माधवकुमार नेपालको र तेस्रो चाहिँ शेरबहादुर देउवा नेतृत्वको । पाँच वर्षमा तीन तीन वटा सरकार बनाउने गरि आठ दलीय गठबन्धन बनेको छ । अरु देशका दलहरुले आफ्नो देश बनाउँछन्, हाम्रोमा दलहरुले सरकार बनाउँछन् । मन्त्री बनाउँछन् । ११ सय सांसद बनाउँछन् । सासू र ज्वाईलाई राजदूत बनाउँछन् । जेठीसासूलाई अध्यक्ष बनाउँछन् । छोरी–बुहारी, सालासालीको कुरा गरिरहनै परेन ।
राजनीतिको नाममा अस्थीरताको तमासा देखाइएको छ । यो कामको केन्द्रमा छन् देशकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । यिनै प्रधानमन्त्रीले हालै राजनीतिक स्थीरताको कुरा गरे । एक पटक यो विरोधाभाष कुरा सुनिहालौं ।
प्रधानमन्त्रीले चाहँदा सुधारका हजार काम गर्न सक्छन् । त्यो पनि एकाध निर्णयकै भरमा । जनताले राहत पाउने काम गर्न प्रधानमन्त्री आफैं श्रमदान गर्न सडकमा उत्रिनु पनि पर्दैन । सिंहदरबारमै बसिबसी केही कठोर निर्णय गर्ने आँट गर्नु पर्छ । प्रधानमन्त्री जनताको अवस्था फेर्ने होइन, रङ फेर्ने, गठबन्धन फेर्ने, सरकार फेर्ने धन्दामा व्यस्त हुनुहुन्छ । यति नगरे शहीदका सपना पनि त पुरा हुँदैनन् । प्रधानमन्त्रीले हालै जनयुद्धका शहीदलाई पनि राष्ट्रिय सहीदको सूचीमा राख्ने प्रयत्न पनि गर्नु भएको छ । यो कामका लागि बधाई छ । बाँचेकाहरुका लागि त सरकारसँग कुनै योजना छैन, बाँच्न नपाएकाहरुका लागि भोजको पनि आयोजना गर्ने कि ?
गठबन्धन फेरेको भोलिपल्ट प्रधानमन्त्रीले भन्नुभयो – ‘ओलीसँग हुँदा साह्रै सकस पर्यो । काम गर्ने स्थिति नै भएन ।’ सार्वजनिक बिदा दिन, बेतुकका निर्देशन दिन, बेअर्थका राजनीतिक स्टन्ट गर्न, आफैंले गरेका निर्णय रद्द गर्न, राजनीतिक अराजकता र अस्थिरताका बिउ रोप्न, विदेशी खुसी हुने गरी प्रस्तावहरु पाखा लगाउन अलिकति पनि सकस भएन । साझेदार दलहरुको कुनै अवरोध पनि भएन ।
अलि सरल शब्दमा भन्नुपर्दा नेपाली शासकहरुलाई कुकर्म गर्न कसैको अवरोध हुँदैन, जनताको पक्षमा काम गर्ने बेला कर्मचारीतन्त्रले सहयोग गर्न छाड्छ, सत्तासहयात्री दलले अवरोध गर्छ, हिँड्ने बाटो पनि बाँगो हुन थाल्छ । लिने बतास र पिउने पानी पनि धमिलो, नुनिलो हुन थाल्छ । यस्ता बहानाबाजी नेपाली शासकहरुको आम चरित्र नै बनिसकेको छ ।
हिजो ओलीसँग प्रचण्डको गठबन्धन थियो । आज शेरबहादुर देउवासँग गठबन्धन बनेको छ । गठबन्धन भन्नु त के रैछ र ?- प्रतिस्पर्धाबाट जोगिने अस्त्र । चुनावमा एक्लै भिड्ने हिम्मत नभएपछि गठबन्धन बनाइन्छ । एक्लै बहुमत ल्याउने आत्मविश्वास खिइएपछि गठबन्धन बन्छन् । हिजो भन्दा आज अझै ठूलो गठबन्धन वा भनौं सिण्डिकेट बनाएर प्रधानमन्त्री अघि बढेका छन् । गठबन्धन वा यो राजनीतिक सिण्डिकेटले घुमाइ घुमाई सत्ताको सुख भोग गर्छ । पालै पालो मस्ती गर्ने, भोगविलास गर्ने साधन सत्ता बनेको छ । जनतालाई कुनै खास उपहार दिने, देशको अवस्थामा सुधार ल्याउने योजना सत्तारुढ दलहरुमा वा विपक्षमै भएकाहरुमा पनि हुन्थ्यो भने उनीहरु विकास र सुशासनका एजेन्डामा दैनिक बहस गर्थे ।
तर आजसम्म करकाप र बाध्यतामा नपरी कुनै पनि प्रधानमन्त्री आफैंले जनताको स्तर उकास्ने काममा, बहसमा आफैं अग्रसर भएको देख्न पाइएको छैन । अहिलेका प्रधानमन्त्रीलाई यदि यस्तो कुरा कसैले सोध्यो भने सम्भवतः उनले प्रतिप्रश्न गर्दै भन्ने छन् – उडाउने, सिध्याउने, भत्काउनेभन्दा बाहेक पनि काम हुन्छ र ? –न्युज24
प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार













प्रतिक्रिया